सर्जकहरु हिरण्यकुमारी पाठक, मधुवन पौडेल र बद्री पोखरेल सम्मानित हुने

खगिन्द्रा खुसी · असोज २०, २०८३ ४:२५ PM
Cover Image for News

  २०८३ असोज २०, झापा । वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई सम्मान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । उक्त सम्मान आगामी २०८३ असोज २७ गते समर्पण गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।  विगत पाँच दशकदेखि सक्रिय साहित्यकार हिरण्यकुमारी पाठकको मोहचक्र, शूञवत, दूरस्वप्न र अग्निदह (कथाकृति), अव्यक्त र सम्बन्धको चुकुल (कविताकृति), धूर्त स्याल र घमण्डी बाघ (बालउपन्यास), तोत्र प्रेम वृतान्त (जीवनी) तथा मेहनती मौरी, दश महामूर्ख, राम कथा, चतुरे बञो नेता र चमत्कारी औंठी (बालकथाकृति) प्रकाशित रहेका छन भने पाठकले नारी स्वर साहित्यिक पत्रिका र सम्झनामा राममान त्रिषित ग्रन्थको सम्पादनसमेत गर्नु भएको छ। व्यथित काव्य पुरस्कार, छिन्नलता सम्मानसहित पाठक तीन दर्जन सम्मान र पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ । यसैगरी यात्रा निबन्ध एवम समसामयिक विषयमा लेखहरु प्रकाशित गर्दै आउनु भएका कथाकार मधुवन पौडेल तीसको दशकका चर्चित आख्यानकार हुनुहुन्छ । पौडेलका बाँच्नुको विवशता, नलिनी भाउजु, म र मेरो परिवेश, चपाएको दन्त्यकथा, आवतरण र अरु कथाहरु, आफ्नै अतीत दोहोरिए जस्तो, अन्त्यहीन परिवेश र फाजिल जिन्दगी (कथासङ्ग्रह), एउटी वेश्याको आत्मकथा (लघु उपन्यास) र बृटिशकालीन भारतको इतिहास (गैरसाहित्यिक कृति) प्रकाशित रहेका छन । पौडेल मैनाली कथा सम्मान, शंकर कोइराला आख्यान पुरस्कार, मानश्री पुरस्कार लगायत विख्यात त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु चौथो आदिबाट पुरस्कृत र सम्मानित भइसक्नु भएको छ । यसैगरी नेपाली भाषा साहित्यमा क्रियाशील सर्जक बद्री पोखरेल अर्थशास्त्र, लैङ्गिक समानता, सशक्तिकरण तथा समावेशी विकाससम्बन्धी विषयहरूमा अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित गर्दै आउनु भएको छ । सर्जक बद्री पोखरेलको म भित्र अर्कै छ (कवितासङ्ग्रह), दश पोका भित्रका पन्ध्र अञ्जुली (यात्रा निबन्धसंग्रह), मेची-काली (निबन्ध संग्रह), अर्को यात्रा अन्टार्कटिका (अनुभवात्मक पुस्तक), व्यवस्थापनका पाँच आयाम, नेपालमा सम्पत्ति कर: सिद्धान्त र व्यवहार, Land Revenue Administration of Nepal, Fiscal Policy Nepal, अर्थशास्त्र शब्दकोश र शिव महापुराण (मूल संस्कृतबाट अङ्ग्रेजी अनुवाद) तथा आरोग्य (गीति एल्बम) प्रकाशित रहेका छन । यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे, किरण खरेल र मनबहादुर मुखिया आदि सम्मानित भइसक्नु भएको छ समाचार साहित्यिक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।

ट्यागहरू:
samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।