सप्तसरोवर नवीनताको खोजी कि इलामको उत्खनन्

हेम अधिकारी पोष्ट-दिलिप घिमिरे · असोज २५, २०८१ २:११ PM
Cover Image for News

सप्तसरोवर नवीनताको खोजी कि इलामको उत्खनन्
 हेम अधिकारी
 प्रसङ्ग :

 कवि जीवनहरि पोखरेल इलामको सुम्बेक पुछारमा जन्मिएर शिक्षा र साहित्यमा तल्लीन
 व्यक्तित्व हुन् । साहित्यमा उनी जीवनहरि शर्माका नामले परिचित छन् । छन्दमा राम्रो अधिकार
 जमाएका शर्मा निरन्तर कविता साधनारत पाइन्छन् । भर्खरै इलामबाट झापाको दमकमा
 बसाइँ सरी आएका शर्मा अब भने झपाली हुन रुचाएका भन्नु पर्ने हुन्छ ।
 कवि शर्माको यो सातौँ काव्यकृति हो भने एउटा छन्दसाधना सम्बन्धी युटुब च्यानल पनि
 चलाएका छन् । सप्तसरोवर इलामका महत्त्वपूर्ण सातवटा पक्षहरूको खोज अनुसन्धान
 गरिएको काव्य हो ।

 प्रवेश :
 संसारमा काव्यको प्रारम्भ पद्य वा छन्दोबद्ध रचनाबाट भएको पाइन्छ । हाम्रा
 वेद, वेदाङ्ग, पुराणादि ग्रन्थ यही परम्परामा विकसित छन् । त्यसैले तिनताका गद्यं ननाटकम्
 भनिन्थ्यो । पश्चिमका इलियड, ओडिसी, प्याराडाइज लस्ट, प्याराडाइज रिगेन्ट वा मध्यपूर्वका
 काव्य ग्रन्थ पद्यमै रचिए । नेपालीमा पनि साहित्यको थालनी पद्यबाटै भयो । आचार्यहरूले
 पछि के बुझे र गद्य कविनां निकसा वदन्ती भनेर गद्यलाई त्यति धेरै महत्त्व दिए । अनि फेरि
 गद्यमा भेलबाडी नै चल्यो ।
 सप्तसरोवर के हो ?
 सप्त सरोवर के हो र कुन स्तरको ग्रन्थ हो भन्ने कुरा निक्यौल गर्नु आवश्यक हुन्छ । कविताका
 ग्रन्थहरू तीन प्रकारका छन् :
 १: महाकाव्य : जीवनको यतिवृत्त वर्णन भएको जस्तै : शाकुन्तल, सुलोचना, आदर्श
 राघव..... आदि आदि ।
 २: खण्डकाव्य : बिचबाटै उठेर बिचैमा टुङ्गिने जस्तै : मुनामदन, सीताहरण,राजेश्वरी.....
 ३ : कोश काव्य : कुनै एक मूल कथानक र नायक नभएको कुनै स्थान, कार्य, घटनाहरू, ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक, विकासका गतिविधिहरू वा यस्तै कुनै पक्षहरूको वर्णनको संग्रह कोशकाव्य हो । नेपालीमा कोशकाव्यको परम्परा नै छ ।
 लेखनाथका लालित्य, ऋतुविचार, सत्यकति संवाद, धरणीधरको नैवेद्य, लीलाध्वजको
 वरूण, केदारमान व्यथितको सङ्गम प्रतीक्षा, कुलचन्द्रको राघवालंकारजस्ता विशिष्ट

कोशकाव्यकै हारमा यो पङ्क्तिवद्ध भएको छ । त्यसैले यो स्पष्टतः कोशकाव्य हो । त्यसमा
 पनि यो शोधकाव्य हो ।
 काव्यको थालनी :
 इलामका इतिहास विद् श्री युद्धप्रसाद वैद्यको गहन भूमिकाले कृतिको गहनता र गहिराइको
 सङ्केत गरेको छ ।
 काव्यको थालनी गर्दा बन्दना, आराधना गर्ने परम्परा छ । परियोजना कुनै वाधा अवरोध बिना
 सम्पन्न गर्न सकूँ भनेर कविहरू आराध्य देवदेवादिलाई वन्दना गर्दछन् । देवकोटाले शाकुन्तल
 महाकाव्यको थालनीमा चिम्ली लोचन दीर्घकालतक नै खोलेर वासन्तीका ..भनेर शिवपार्वतीको आराधना गरेकाछन् र शकुन्तलाले सुख पाउन् भन्ने कामनाका साथ समापन गरेका छन् । शकुन्तलाले सुख पाउनु भनेको महाकाव्य सफल हुनु हो। सुलोचनाको थालनीमा भर दल तन्त्री, नवलय मन्त्री, अयि कर वीणा, शठतम हन्त्री भनेर वीणाधारी शारदाको आराधना गरेका छन् गर क्षमा मनका त्रुटिमा सब भनेर क्षमा याचना गर्दै समापन गरेका छन् ।

 लेखनाथले बुद्धिविनोद लेख्ता कहाँ थियो वास अघ म को थिएँ, कसो हुदा यो पिंजरा लिँदो भएँ
 भनेर थालनी गरेका छन् भने म निस्कनाले जननी तिमीकन परेछ यो घोर अनर्थ चिन्तन, म
 भित्र आएँ अब के छ लस्पस ? थपक्क बाब्रासित शान्त भै बस। भनेर जुन दार्शनिक बिन्दुबाट
 थालेका थिए उही बिन्दु समापन गर्दै सकेका छन् ।
 ठिक त्यसरी नै कवि यहाँ पृष्ठ १ मा सरस्वती तिमी माता तिमी बुद्धि प्रदायिनी विणा
 पुस्तक बोकेकी अर्तीको आस गर्दछु भनेर सरस्वतीको आराधनाबात थालनी गरेका छन् भने
 नमस्ते मेरो यो भनिकन बस्यो जीवनहरि भनेर विनम्रभावकासाथ टुङ्ग्याएका छन् । कविहरू
 थालनीमा फूलबनेर सुवासित हुन्छन् भने अन्त्यमा लटरम्म फलेर पाकेका फलले झुकेको
 वृक्ष झुकेर सपापन गर्ददछन् जो यहाँ पनि गरिएको छ ।
 कृतिको वस्तुपक्ष :

 कृतिको मूल विषयको थालनी अघि नै वन्दना, प्रस्तावना, इलामको भूगोल र इलामको इतिहास
 गरी चार अध्यायको पूर्वपीठिका छ । सरस्वतीको वन्दना, इलामका देवदेवीको वन्दना, पितृ
 वन्दना अनुष्टुप,सवाइ र मालिनी छन्दमा यो कार्य विना वाधाअवरोध पूरा सकूँ भनेर कामना
 गरिएको छ ।

 त्यसपछि कृतिको मूल विषयवस्तु आरम्भ हुन्छ । यो कृति शोधमूलक रहेकाले कविले सातको
 सीमा बनाएको पाइन्छ । शोध अनुसन्धान गर्दा विषयवस्तुको सीमा निर्धारण अनिवार्य हुन्छ
 नत्र शोध कता कता बरालिन सक्छ । त्यसैले कविले यहाँ सातवटा वियका सातसातवटै एकाइ चयन गर्नुभएको छ । यो सर्जकको स्वतन्त्रता र रुचीको विषय हो । उहाँले आफैँ बाँकी धेरै
 हुनसक्छन् ती काम गर्न बाँकी नै छ । यो शोधकाव्यको प्रवृतिभित्र पर्ने कुरा हो । प्रस्तावना
 मातृवन्दनाबाट सुरु गरिएको छ र विषयसूचीमा भएको कुराको संक्षिप्त रूपमा पूर्व सूचना
 दिइएको छ ।

 अब मात्र कृतिको मूल भागको थालनी हुन्छ । पहिलो खण्डमा इलामको भूगोलको
 विहगावलोकन गरिएको छ। पूर्वमा सिंहलिला पर्वतको पानी ढलो पश्चिम, उत्तरमा महाभारत
 पर्वतको पानी ढलो दक्षिण, पश्चिममा मोरङ जिल्लाको पूर्वी पहाडी भागको पूर्व र दक्षिणमा
 चुरेपहाडको दक्षिणतिरको सानो समथर भागभित्र रहेको सुन्दर इलामको कलात्मक वर्णन
 गरिएको छ । १७०३ वर्ग कि.मि. क्षेत्रफल भएको र सरदर ३२२० मि.मि. वर्षा हुने इलामको
उचाइ समुद्र सतहबाट १४४० देखि २६३६ मिटरसम्म उचाइ सम्म रहेको छ । यहाँ इलामका
हावापानी, डाँडाकाँडा, खोलानाला, भिरपाखा, सहरबजार आदि कवितामा उत्रिएका छन् ।


 राजनैतिक परिवर्तन पछि पालिकाका परिवर्तित नाम, क्षेत्र, जिल्ला कोड नं., अक्षांश, देशान्तर
 दिइएको छ । इलामको नामाकरणदेखि पुरानो नाम खलङ्गाको जानकारी छ । इलाममा
 चाँपघारी र ठूलो चाँपको रुख भएकाले पौराणिक कालमा चम्पाकरण्य नाम थियो । भूकम्पको
 क्षति, कोभिडको कहर, मेलापर्व, चाडबाड, सांस्कृतिक सम्पदाको मनमोहक चित्रण रेडपाण्डा
 लगायत अनेक पशुपन्छी पाइने इलाम नेपालको आँखाको नानीको रूपमा चित्रित मात्रै छैन
 यसलाई पहाडकी रानी बनाइएको छ । पारीकाले दार्जिलिङलाई पहाडकी रानी बनाए हाम्रो
 इलाम त्योभन्दा के पो कम छ र कविको कलामा र प्रकृतिको वरदानमा यो पहाडकी रानी
 पृष्ठ २३: २९ मा हो । लोकसंस्कृतिको मिठोशब्दचित्र पृष्ठ २१ मा उदाहरण श्लोक २०. २४ सम्म
 हेर्न सकिन्छ। सातभाईको सुन्दर वर्णन छ। इलाम माई खोलाको प्रसवण क्षेत्र हो । महाभारत
 दक्षिणको पानी सबै माई| कनकाईमा आएर समाहित हुन्छ भने उत्तरतर्फको तमोरमा जान्छ र
 सप्तकोशीमा समाहित हुन्छ। फुलुङ गी दोभानबाट माईखोलो चुली पस्न र दोमुखामा निस्कंदा
 कनकाई भएर निस्कन्छ । 

कसरी यस्तो नाम परिवर्तन गरिन् माईले भन्ने बारे हेम अधिकारीका
 खोजअनुसन्धान लेख प्रकाशित छन् र उत्तरी धुवतिर टहलिँदा नामक यात्रा संस्मरणमा
 क्यानडाका नदीसँग नेपालका नदीको तुलना गर्दा लेखकको जन्मभूमि र कर्मभूमिको सम्पूज्य
 नदी कनकाईको नामाकरणको छोटो प्रसङ्ग आएको छ।(हे. उत्तरी ध्रुवतिर टहलिँदा र जीवनका
 गौडागडाहरू ) ।
 इतिहास केलाउँदा प्राचीनदेखि अर्वाचीन काल सम्मका अनेक प्रमाण केलाएर इलामको
 नामाकरणको प्रसद् जोडिएको छ । देवकोटाले मीठो लाग्छ मलाई ता.. भने नै कविले कवि
 इलामको इतिहासमा डुबुल्की मारेका पाइन्छन् पृष्ठ २४ः४मा । यो प्रचीनकालको दश लिम्बूवान
 र पूर्वोत्तरमा लेप्चा जातिको बसोबास क्षेत्र हो । लिम्बू भाषामा इलाम भनेको घुमाउरो बाटो र लेप्चा भाषमा इःपुत्का, लोम : बसेको अर्थात् पुत्का बसेको ल्याङ भनेको देश वास्थान ।यसरी पुत्का बसेको ठाउँ भन्ने नाम निस्कियो । यो ठाउँ कहिले सिक्किम इन्द्रकील पर्वतको राज्यभित्र पुग्यो, कहिले सेनवंशीको अधीनमा । सुगौली सन्धिपछि नेपालले मेचीपारिको भूभाग गुमायो र इलामको सदरमुकाम कफक हुदै अहिलेको स्थानमा आएको तथ्य कवि प्रस्तुत गर्दछन् ।
 सातखाल्डेमा २०१८ सालमा निर्दोष सातजना विद्रोही युवा मारिएको दर्दनाक कथा छ ।
 तपेवाको सबैभन्दा ठुलो ऐतिहासिक लालीगुराँस पनि कवि कलमले छाडेको छैन ।
 यहाँ सात गुना सात उनन्चास गाउँको वर्णन छ । पूर्वमा सूयोदयको डाँडो श्रीअन्तुदेखि
 पश्चिममा फुलुङ्गी दोभानबाट उठेको माङ्सेबुङ मोरङको सिमानासम्मका ऐतिहासिक कुराको
 शब्दोत्खनन गरिएको छ ।

 चारैवटा नगरपालिका र छ वटै गाउँपालिकाको बनावट, मूलभूत विशेषता सबै यी महत्त्वपूर्ण स्थान, व्यक्तित्व, वनस्पति, नदीनाला, ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू, जनजीवनको यथोमति वर्णन गरिएको छ । तन्त्रमन्त्र, धामीझाँक्री, ओझाबिजुवा, फेदाङ्वाका गतिविधि पनि आएकाले पाठकलाई किताब पढ्दै गर्दा आफैँ घुमेको अनुभूति हुन्छ ।आएका छन् पालकाका
 पालिकालाई चिनाउन पृष्ठ १०४, १२६, १८८ लाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ ।
 यो पुस्तकको सबभन्दा लामो खण्ड हो यो ।

 यहाँ इलामका नगद आर्जनका प्रमुख स्रोत सातबालीहरू अकबरे, अलैँची, अम्लिसो, आलु, ओलन र अर्थोडक्स चियाको चित्रकारी शैलीमा वर्णन छ । कविले छानेका इलामका सातवटा पोखरीको
 वर्णन छ । सातवटा प्रमुख नदीको वर्णन छ । यिनै सातवटाको मिलन नै महामाई हो ।
 इलामाका अनेकन थुम्काथुम्कीहरूमध्ये सातवटाको कलात्मक वर्णन छ । सातवटा महत्त्वपूर्ण
 स्थलहरू भनेर तीर्थस्थल, धाम, पर्यटकीय स्थल, ऐतिहासिक महत्त्वका स्थलका साथै प्राकृतिक
 सौन्दर्यश्रृङ्गारका स्लहरूको उत्खनन गरिएको छ ।

 मूल भागको अन्त्यमा सातजना महत्त्वपूर्ण
 व्यक्तित्वहरू गरिएको राजनैतिक, धार्मिक, सामाजिक, साहित्यिक, प्रशासनिक, उद्योगपति र नारीजागरणका अगुवाहरू आएका छन् ।छनोट छ
 तिनमा अन्तमा समापन भनेर ६२ वटा श्लोकमा कविका भावना र सिर्जनात्मक अनुभव र ग्रन्थबारे
 कामना व्यक्त गरेर बिट मारिएको छ ।
 कला पक्ष:

 माथि नै भनियो यो खोजमूलक कोशकाव्य हो भनेर । यो छन्देवद्ध रचना भएकाले संक्षिप्तमा
 धेरै कुरा भनिएको छ । छन्द सूत्रवद्ध हुने भएकाले पनि यो व्याख्येय हुन्छ । कतिपय कुराहरू
 छन्दमा प्रस्ट्याउन कठिन हुने भएकाले कविले बिचबिचमा गद्यमा प्रस्ट्याएका छन् । यो
 एउटा सामान्य कविताको किताब नभएर एक विशाल काव्य हो । यस्ता काव्य लेख्ता कविहरू
 परियोजना बनाएर अघि बढ्ने गर्छन् ।

 हाम्रो प्राचीन छन्दसाहित्वबाटै उठेको पाइन्छ । गद्यम् ननाटकम् भनिन्थ्यो । पश्मितिर
 इलियड, ओडिसी, प्याराडाइज लस्ट, प्याराडाइज रिगेन्ट र मध्यपूर्वका काव्यहरू पनि छन्दमै
 लेखिए। विकास हुदैजाँदा कविहरूले के बुझेर साहित्यकारलाई जाँच्ने कसी चैं गद्य हो भनिदिए।
 अनि गद्ययको भेलबाडी लाग्यो । अहिले हाम्रोमा छन्दको पुनर्जागरण काल हो र यसका एक
 अभियन्ता जीवनहरि शर्मा हुन् ।

 यस्ता ग्रथ लेख्ता वन्दना वा आराधनाबाट थालनी गरिन्छ र अन्त्यमा झुकेर कृतिको
 अनुशीलनको अपेक्षा गरिन्छ । देवकोटाले शाकुन्तल लेख्ता चिम्ली लोचन दीर्घकाल ता नै
 खोलेर वासन्तीका । भनेर शिवपार्वतीको आराधनाबाट थालेर शकुन्तलाले सुख पाउन् भन्ने
 कामना गर्दै टुङ्ग्याउनुभएको छ भने सुलोचना भर दिल तन्त्री,नवलय मन्त्री, अयि कर विणा
 शठतम हन्त्री भरेर शारदाको वन्दनाबाट थालेर गर क्षमा त्रुटिमा मनका सब भनेर क्षमा
 याचनाका साथ समापन गरिएको छ ।
 
 लेखनाथले बुद्धिविनोद जीवनदर्शनको खण्डकाव्य कहाँ थियो बास अघि म को थिएँ...
 थालेर म निस्कनाले जनजी तिमीकन, परेछ यो घोर अनर्थ चिन्तन, म भित्र आएं अब के छ
 लस्पस, थपक्क बाबासित शान्त भै बस भनेर समापन गरेको छन् । यहाँ कविले सरस्वती
 तिमी मात ज्ञान बुद्धि प्रदायिनी पृष्ठ १मा भनेर सरस्वती वन्दनाबाट थालनी गरेका छन् भने
 नमस्ते मेरो यो भनिकन बस्यो जीवन हरि पृष्ठ २९१ मा भनेर टुङ्ग्याएका छन् । यस किसिमका
 ठूला कृतिमा थालनीमा कविहरू पुष्पित वृक्षबाट भँ वास्ना छरिरहेका हुन्छन् भने लटरम्म
 फलेर पाकेका फलले झुकेको वृक्ष झैँ झुकेर समापन गरिरहेका हुन्छन् ।
 
 यस्ता विशाल आयामका कृतिहरू कहिलेकाहीँ पूर्व सङ्केत तरिका पनि अपनाउँछन् । यसमा
 प्रस्तावना कविले त्यही पूर्वसङ्केतका रूपमा प्रस्तुत गरेका छन् ।

 कविको छन्दलाई राम्ररी केलाउन, केलाउन र निफन्न सक्ने क्षमताको उच्च नमुना
 हो सप्तसरोवर । यो शोध काव्य भएकाले यथार्थको धरातलमा उभिएको छ । यसमा ज्ञान र
 विज्ञान दुवै हातेमालो गरेर हिँडेका पाइन्छन् ।
 काव्यका
 कला पक्षमा छन्द, अलंकार, रस, ध्वनि, वक्रोक्ति, औचित्य, रीति, गुण, दोष, यथार्थ,
 आदर्श जस्ता कलाका यावत् पक्ष हेनु पर्ने हुन्छ । समाज चित्रण ता झन् महत्वपूर्ण हुन्छ । सानै
 टुक्रामा पनि समाजको जीवन्त चित्रण हुन्छ । जस्तै : सुरूपधारी छ गुणी युवा छ, प्रवृत्त
 लोकोत्तर कर्ममा छ, तथापि पैसा नभए अभागी, कहिन्छ खोटो मति हीन दागी (लेखनाथ)
 भने यत्रो काव्यकृतिमा ता समाजका विभिन्न आयामहरू टुक्राटाक्री हुदै आएका छन् । यहाँ
 प्रायः सबै रस आएका छन् । संयोग श्रृङ्गारदेखि शान्त रसहरू आएका छन् । सातखाल्डेको
 ष्ठ घडना वर्णनमा विभत्स रसको उपस्थिति छ । शान्त रस धेरै छ । संयोग श्रृङ्गारको
 उदाहरण उदाहरणका लागि पृष्ठ १२६ । यो अनुसन्धानात्मक कृति भएको हुनाले औचित्य र
 काव्यका गुण धर्मको यथोचित् प्रयोग गरिएको छ ।

 अलंकार तर्फ हेर्दा शब्दालंकार र अर्थालंकार
 दुवैको प्रयो छ तथापि अर्थालंकारको बाहुल्य पाइन्छ । वक्रोक्ति वा व्यङ्य काव्यको महत्त्वपूर्ण पक्ष हो । व्यङ्ग्य बिना काव्य सिर्जना हुदैन तर त्यो कहाँ र कस्तो छ भन्ने कुराको
 खोजी गनुपर्छ । शोधपूर्ण रचना भएकाले यसमा गुणीभूत व्यङ्ग्यको प्रयोग भएको छ ।
 अभिधाको बाहुल्य स्वाभाविक मानिन्छ यस प्रकारका कृतिमा । लेखनाथको ऋतुविचारको
 वर्षाका भेलले गर्दा परखाल बडेबडे, नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे, जस्ता गम्भीर
 व्यञ्जना यस्ता काव्यमा कम पाइन्छ र सामान्य वा गुणीभूत व्यङ्ग्य नै बढी प्रयोग हुन्छ ।

 पृष्ठ ७५ का श्लोकहरूलाई लिन सकिन्छ । यथार्थमा कविले काव्यका मूलभूत विशेषताहरूको
 यथोचित् प्रयोगको प्रयत्न गरेको पाइन्छ । अन्त्यमा २१ अक्षरको लामो स्रग्धरा छन्दमा आफ्नो
 भावनात्मक निस्कर्ष पोख्तछन् पृष्ठ २९० को श्लोक ८९ लाई उदाहरण लिन सकिन्छ ।
 त्यसपछि शिखरिणी छन्दका छवटा श्लोकमा समापन गर्दछन् ।

 यसमा २१ वटा छन्द छन् । धेरै वार्णिक, अलिक कम सवाइ र दुईवटा मातृक पद्मटिका र
 भुजङ्गिनीमा यो कृति सिर्जित छ । सबै पालिकाका स्रोत उपलव्ध गराउने स्रोतव्यक्तिहरूका
 नाम छन् । अठारवाटा सन्दर्भ सामग्रीका नाम छन् तर एउटैमा धेरै भएकाले अझ धेरै छन् ।

 दमक ५ झापा

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
बिन्दु दहाल मूकदर्शक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
मुनाराज शेर्मा पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १२ नोभेम्बर २०२४
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
देविका मंग्राती राई पोष्ट दिलिप घिमिरे - बुधबार २३ अक्टोबर २०२४
बावऋ एक टिप्पणी
बावऋ एक टिप्पणी
चूडामणि वाशिष्ठ पोष्ट- खगिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४