देवीप्रसाद गौतमको ‘पाँचकोरी थुँगा’ सार्वजनिक
इलामका सङ्गीतकर्मी देवीप्रसाद गौतमको गीत–सङ्ग्रह ‘पाँचकोरी थुँगा’ सार्वजनिक गरिएको छ।
स्वरसम्राट् नारायणगोपालको ३३औं स्मृति दिवसको अवसरमा इलाम नगरपालिकाको साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य संस्कृति कला प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा गीति संग्रहको लोकार्पण गरिएको हो।
इलाम साहित्य संस्कृति कला प्रतिष्ठानकी उपाध्यक्ष रीना घिमिरेको अध्यक्षता र प्रमुख आमन्त्रित अतिथि इतिहासविद् युद्धप्रसाद वैद्य रहनुभएको थियोे ।

कार्यक्रममा नारायण गोपालका लोकप्रिय गीतहरू स्थानीय कलाकार कोमल निरौला लगायतले प्रस्तुत गर्नुभएकाे थियाे ।
इलाम जिल्लालाई नै गीत संगित मार्फत बिश्वमा चिनाउन सफल भानुभक्त मावि मंगलबारेका पूर्व प्रधानाध्यापक हुन् गौतम।इलाम जिल्ला देउमाई नगरपालिका वार्ड नं. ५ सिंगलप्पामा स्व. पिता तिलचन गौतम र स्व माता मनमाया गौतमको पुत्ररत्नको रुपमा वि.सं. २०११ साल पौष १८ गतेका दिन जन्मनु भई देउमाई नगरपालिका-४ मंगलबारेमा स्थायी घर भई हाल इलाम नगरपालिका-७ सुन्तलाबारीमा बसोबास गर्दै आउनु भएको छ।नेपाली तथा इतिहास दुई विषयमा एम.ए. सम्मको अध्ययन पुरा गरी शैक्षिक उन्नयनको लागि शिक्षण पेशामा लामो समय बिताउनु भएका देवी गौतमले बाल्यकालदेखि नै अध्ययन तथा गीत,सङ्गीत,कला साहित्य र संस्कृतिमा अत्यन्तै चाख राखि अहोरात्र खटेर यस क्षेत्रलाई उचाईसम्म पुऱ्याउने विद्धान् हुन्। 
एक सय गीत समेटिएको यस सङ्ग्रहमा प्रेम, प्रकृति, परम्परा, सांस्कृतिक धुन, लोक भाका तथा जीवनका विभिन्न पक्ष समेटिएका छन्।
सङ्ग्रहमा राई समुदायको ‘साकेला’ र लिम्बू समुदायको ‘केलाङ’ लयसमेत समावेश गरिएको छ, जसले पूर्वी पहाडको सांस्कृतिक विविधतालाई गीतमार्फत उजागर गरेको सहभागीहरूको भनाइ थियो।
प्रतिष्ठानका सचिव जय नारायण भट्टराईले सञ्चालन गरको कार्यक्रममा स्थानीय साहित्यकार, कलाकार, पत्रकार, सङ्गीतकर्मी तथा सरोकारवालाहरूको उपस्थिति उल्लेखनीय थियो।