बाँकेका कवि र कविता विषयक काव्य विमर्श सम्पन्न
‘बाँकेका कवि र कविता’ विषयक काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंको आयोजनामा तथा कल्पना फाउन्डेसन नेपालको सहआयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको अध्यक्षता कल्पना फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गर्नु भएको थियो भने नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेत मुख्य अतिथि रहनु भएको थियो।
बस्नेतले काव्य विधाको उन्नतिको लागि देशका विभिन्न स्थानमा यस्ता कार्यक्रम निरन्तर गर्दै आएकाे उल्लेख गर्दै नेपालगञ्जमा भएको यो भव्य कार्यक्रमले साहित्यिक गतिविधिलाई थप उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा टिप्पणी तथा शुभकामना दिने विशिष्ट अतिथिहरूमध्ये नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य–सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्राडा कृष्णप्रसाद घिमिरे, प्राडा गोपालप्रसाद अधिकारी, नेपाल प्रज्ञाप्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहाडी, राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्रजंग पिटर, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, काव्य विभाग सदस्य मणिरत्न अर्याल लगायतको सहभागिता रहेको थियो। 
कार्यक्रमकाे सञ्चालन फाउन्डेसनका सदस्य बोधराज प्याकुरेलले गर्नुभएको थियो। उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो।