चियाका मुना जस्ता कलिला सपना !

रसुवाली कवि · कार्तिक २५, २०८२ ५:३२ PM
Cover Image for News

चियाका मुना जस्ता कलिला सपना !

                             -रसुवाली कवि 

कुनै  साहित्यिक समारोहमा  एकजना मित्रले भन्नुभयो- `प्रगतिशील मित्रहरूले यस बर्ष मदन पुरस्कार प्राप्त उरमाल मन पराउनु भएन रे ? ´जवाफमा  मैले भने - मलाई चाहिँ गज्जव लागिरहेछ उरमाल । साच्चै मलाई गज्जव लागिरहेको थियो उरमाल। यसमा समावेश  काव्यिक भाषाले मलाई रन्थनाएको थियो । हालै म उरमाल पढिरहेको बेला ती साथीसँग हल्का संवाद भएको मात्र हो । 

प्रगतिशील वृत्तमा एउटा यथास्थिति छ ।  कतिपय प्रगतिशीलहरू माक्र्स र लेनिनबाट बाहिर निस्कन सकिरहेका  छैनन् । केरलाका कम्युनिस्टहरू  यस्तो स्थितिबाट बाहिर निस्के होला , चाइनाका  कम्युनिस्टहरू निस्के होला । नेपालमा केही  प्रगतिशीलहरू दलदले हिलोमा फसेका  छन् । 

उरमाल डुबर्स क्षेत्रको चिया कमानका  मजदुरहरूलाई केन्द्रमा राखेर लेखिएको उपन्यास हो । उरमालको केन्द्रिय पात्रहरूमा महिलाहरूको सशक्त उपस्थिति छ । जस्का सपनाहरू चैतका गुलाफका पोथ्राहरू जस्ता छन् , जो चैतको मौसममा पनि फूल्न खोजिरहेका छन् । एक झमट झरीले पनि यिनलाई जीवनको पाठ सिकारहेकाछन् । फूल्नु भनेको जिन्दगी हो । फूल्ने  फूललाई चैतमा पनि नफुली धर हुँदैन  । त्यस्तै लाग्छन् चिया कमानका मजदुरहरू पनि ।

 पात्रहरूको नाउँ समेत अनौठो लाग्छन् सोमारी ,ऐतमारी , दलबहादुर , जुरेन , लालमान ,बुधुवा ,नुरसाङ ,सकिला आदि  । थुप्रै पात्रहरू छन् , जो डुबर्स वरिपरिबाट टिपेका छन् छुदेनले ।मेरो एकजना साथी छ्न् सरोनर ।उनी मेचीपारीको साहित्यमा रुचि राख्छन् । अर्को महिना पढ्छु भनेर साचेको उपन्यास यहि महिना पढ्न उनकै सुझावले काम गरेको थियो।अस्तितिर शिलापत्रमा छुदेनजीले अरुण थापाको बारे साह्रै मिठो लेख्नु भएपछि भोलिपल्ट नै न्युरोड बुकमा पुगेर उरमाल खरिद गरेको थिएँ, त्यही दिनबाट पढन सुरु गरेको थिएँ  । 
उरमाल चिया बगान र कमानको इतिहास हो । साहित्यमा  सामाजिक यर्थाथवाद कमजोर भएको आरोप लागिरहेको बेला  उरमाल आएको छ । यस्ले एकप्रकार कलात्मक साहित्यको अभावलाई पूर्ति  गरिदिएको छ । उरमाल आएसँगै सरोनरजी भने जस्तै मेचिपारीको साहित्यको उभार आउने देखिन्छ । केही उत्कृष्ट साहित्य उताबाट फेरि आओस् भन्ने लाग्छ । नेपाली साहित्यमा जागरण पूर्वबाटै आउने हो । पश्चिम पनि केन्द्र बन्नपर्छ ,सम्भव हुने दिशामा छ । 

उरमालले  डुबर्स क्षेत्रको गम्भीर राजनीतिलाई पनि  प्रतिनिधित्व गर्छ । मजदुरलाई  ढाल बनाइरहेका साहेवहरू , चिया बगानबाट बाहिर जान नसकेका  मजदुरका  आवाजहरू  मालिकसँग जोरी खोज्न नसक्ने मजदुर नेताको प्रगतिशिलता उरमालमा आएको छ । चिया बगानको क्यानभासमा छुदेनले युगीन र मर्मस्पर्शी कथा कोरेका छन्। त्यहाँका  आदिवासी र नेपालीबीचमा फैलिन खोजेको कलहको कथालाई साह्रै होशियारीका साथ भनेका छन् छुदेनले । भानुभक्तको सालिकको  टाउको छिनेपछि दलबहादुरमा जन्मिने जातिप्रेमको भावना संसारभर मानिसहरू हुन्छ नै । जो खुकुरी भिर्ने र गोर्खाली कहिल्यै पछि हटदैन भन्ने दलबहादुरमा पनि देखिन्छ । 

 आदिवासीहरूले खोजिरहेको अधिकारको पक्ष मानव सभ्यतामा एउटा प्रश्न बनेर उभिन्छ्न् नै  । त्यही बेला जल्ने झुपडीहरूको कथा चाहिँ यति सरल ढङ्गले कमै लेख्छन् होला ।
 चिया कमानमा राजनीतिक स्वर बोकेर कम्युनिस्टहरू आइपुगेका छन् , काङ्ग्रेसहरू आइपुगेका छन् , ट्रेड युनियनवादीहरू आइपुगेका छन् तर पनि  साहेवहरू नाफामा छन् , मजदुरहरू छाक टार्ने मेसोमा छन् । चियाका  मुना जस्ता कलिला सपना पलाउदै पनि छन्   र ती सपनाहरूलाई टिपिदै पनि छन् नछिपिदै । 

 बाघले बच्चालाई मारेपछि भारतको न्यायलय धाइरहेका बाहरू जो आम मान्छे हुन त्यो  वास्तवमा  आजको निम्न वर्गको  कथा  हो । बाघले  कलिलो बच्चालाई मारेको छ , दलबहादुर र बुधुवाहरू बनको अफिस पुगिरहेका छन्   बन प्रशासनले साह्रै झारा टार्ने काम गरिरहेको छ ,न्याय निरन्तर क्षय भइरहेको विम्ब मलाई शक्तिशाली लाग्यो । घिमिरे बडाहरू पनि समयको घाउ बोकेरै हिडेका छन् । 

आदिवासी बस्तीमा चिया बगानका साहेवले बाड्ने तलब छ ,राजनीति र कलह सवै छिरेको छ । युगौदेखि उनीहरू त्यहाँ बसिरहेका छ्न्, जमिनमाथि अर्कै वर्गको स्वामित्व छ । आदिवासी चेतलाई भुत्ते बनाउने अर्कै बेग्लै  कुरा पनि छन् । हामी उरमालको दुरबिनबाट गोर्खाल्यान्ड आन्दोलनका  दृश्यहरू देख्न सक्छौँ ।
 यस उपन्यासको महत्त्वपूर्ण पक्ष डुबर्सको स्थानीय भाषा र छुदेनको काव्यिक लेखन पनि हो । जस्ले पाठकलाई ३७८ पेजसम्म तानिरहन्छ ।

 `चियावारीका हरेक श्रमिकले कानेखुसी गर्न थाले "यो चिया उमार्ने हामी नै त हौँ । हाम्रै पुर्खाहरू थिए , जोहरू चियाको बोटमा सुन खोज्दै यहाँ आइपुगे । जसले रगत र पसिना बहाए । चिया रोपे । स्याहारे  ।हरदिन खटे तर अहिलेसम्म त्यहीँ चिया गाँछनजिक उभिएको घरको जमिन पनि हाम्रो नाममा छैन । पक्का घर बनाउने अधिकारसम्म हामीलाई छैन । यस्तो जीवन अझै कति बाच्ने ?" ( उरमाल , पेज २६१ ) 

चियाको बोटमा सुन फल्ने सपनासहित चियाको बगानमा जिन्दगीभर  काम गरेर अन्तिममा रित्तै घर फर्केका तिनै शोषित ,पीडित मजदुरहरूको मनै बिझाउने कथा हो उरमाल । जहाँको चिया कमान काम त पाइन्छ तर त्यो कामले मजदुरलाई सामाजिक सुरक्षा दिदैन । उरमान उनै दुनियाँ बदल्ने चिया मजदुरहरूको पक्षमा उभिएको छ ।
 जुन मजदुर टिपेको चिया पिउदै हरेकको  दिन सुरुवात हुन्छ । चिया लोकतन्त्र जस्तै जतासुकै  फैलिएको छ । मजदुरको दु:ख नि ?त्यो त यथावत छ ।
 मेरा प्रीय कमरेडहरू तपाईंहरू पनि उरमाल पढ्नुस् ।Chuden Kabimo

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एन.बी. दाहालको गीति काव्य  ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू   - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
समीक्षक-प्रधान जोशी,पोष्ट-दिलिप घिमिरे - शुक्रबार २८ नोभेम्बर २०२५
 'साउती'सँग साक्षात्कार
'साउती'सँग साक्षात्कार
डा. तुलसी भट्टराई, काठमाण्डु - शुक्रबार १४ नोभेम्बर २०२५