सापकोटाको ‘यात्राको लय’ लोकार्पण
झापा ७ माघ/साहित्यकार प्रदीप सापकोटाको यात्रा संस्मरण ‘यात्राको लय’को दोस्रो संस्करण लोकार्पण गरिएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतमलगायतले कृति सार्वजनिक गरे ।
प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामर्थ्य भएको बताए ।
यात्रा संस्मरण या नियात्रा लेख्दा ढाँट्ने छुट लेखकलाई नभएको बताए।सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक यात्रा संस्मरण लेखिनुपर्नेमा जोड दिए ।
यात्रा गर्न औधी रुचि राख्ने उनका यसअघि
'यात्राका इन्द्रेणी रङ' नियात्रासङ्ग्रह,२०७७,मनको वारपार मुक्तकसङ्ग्रह,२०७८ प्रकाशित छन् ।उनी आफू घुमेका स्थानहरूमा सरल भाषाशैलीमा लेखिएका नियात्रामार्फत पाठकहरूलाई घुमाउन सक्ने सामर्थ्य राख्छन् ।
कृतिमाथि परिचर्चा गर्दै समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्वन्द्वकालीन समयको चित्र भएको बताए ।उनले यात्रा निबन्धमा चित्रात्मक गति हुनुपर्नेमा जोड दिए।प्रदीपको यात्राकृतिमा गति रहेको उनले उल्लेख गरे ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए । पछिल्लो समय यात्रा साहित्यका लेखक मात्र नभई पाठक पनि बढ्दै गएको उनको भनाइ छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रकाशक केशव पराजुली, साहित्यकारहरू पवन आलोक, किशोर पहाडी,लेखनाथ हुमागाईं, राधेश्याम लेकाली,तारा केसी,छविरमण सिलवाल र कृतिकार सापकोटाले आफ्ना धारणा राखे ।
कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरेका थिए। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरेकी थिइन् ।