साहित्यकार योगेन्द्र तिमिल्सिनाको`बोकेदाह्री´लघुकथा सङ्ग्रहको लोकार्पण शनिबार सम्पन्न

दिलिप घिमिरे · चैत २५, २०८२ ४:१२ PM
Cover Image for News

झापा २५ चैत्र /साहित्यकार योगेन्द्र तिमिल्सिनाको`बोकेदाह्री´लघुकथा सङ्ग्रहको लोकार्पण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

पुतलीसडकस्थित ग्रीनलिफ रेष्टुरेन्टमा आयोजित कार्यक्रम साहित्यकार डा. तुलसी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो।
समारोहमा समीक्षकद्वय प्राडा.भरतप्रसाद भट्टराई तथा महेश प्रसाईले विमोचित लघुकथासङग्रहका लघुकथाहरुको समीक्षा प्रस्तुत गरे।

विशेष अतिथि लघुकथाकार ध्रुव मधिकर्मीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको कथाको क्षेत्रमा लामो पृष्ठभूमि रहेको उल्लेख गर्नु हुँदै बोकेदाह्रीमा समावेश केही लघुकथाहरु बारे चर्चा गरे।त्यस्तै अर्का विशेष अतिथि लघुकथा समाजका सचिव तथा मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइरालाले लघुकथाको ऐतिहासिक पृष्ठभूमि केलाउँदै यसको लोकप्रियता बढ्दै गएको र लघुकथा लेखन पनि विस्तार हुँदै गएको कुरा उल्लेख गर्नु भयो ।

प्राडा.भरतप्रसाद भट्टराईले लघुकथा सङ्ग्रह बोकेदाह्रीमा प्रकाशित चालीस लघुकथाहरुको प्रवृत्तिगत समूहमा विभाजन गरी विस्तृत समीक्षा प्रस्तुत गरेका थिए।मानवीय समवेदना, समकालीन राजनीतिप्रतिको व्यङ्ग्य, अन्धविश्वास,सामाजिक र साँस्कृतिक विचलन आदि विषयमा कथाहरुको वर्गीकरण गरी उनले लघुकथा सङ्ग्रहको समीक्षा प्रस्तुत गरेका थिए । 

कार्यक्रममा स्रष्टा योगेन्द्र तिमिल्सिनाले आफूलाई उत्कृष्ट लागेको २०२८ मा प्रकाशित `मान्छे´शीर्षकको लघुकथा वाचन गरेका थिए।          उक्त कार्यक्रममा भीष्म उप्रेती,विमल भौकाजी,सुधा भट्टराई,जसध्वज गुरुङ,गङ्गाप्रसाद भेटवाल, त्रिचन्द्र श्रेष्ठ,आनन्द पौड्याल,प्रवीण जोशी,कृष्ण न्यौपाने,हेमन्त गौतम,सञ्जय श्रेष्ठलगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो।

ओरिएण्टल पब्लिकेशनका श्रीहरि गौतमले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता डा.तुलसी भट्टराईले गर्नुभएकाे थियाे।समापनका क्रममा उहाँले लेखकसँगको दीर्घ साहित्यिक सम्बन्ध स्मरण गर्दै तिमिल्सिनालाई आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना व्यक्त गर्नुभएकाे थियाे । 
तिमिल्सिनाको यसअघि पुनर्मिलन,फूल र काँडा,अन्त्यहिन यात्रा,अक्कर उपन्यास प्रकाशित भएका छन् ।साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका बैंसको निर्वासित सहर,अनन्त आकास र तीन धारा जस्ता कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

ट्यागहरू:
लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।