साहित्यकार कृष्ण धरावासीलाई दीर्घसाहित्य सेवा सम्मान प्रदान
झापा २१ चैत्र /साहित्यकार कृष्ण धरावासीलाई शुक्रबार दीर्घसाहित्य सेवा सम्मान प्रदान गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार धरावासीलाई उक्त सम्मान प्रदान गरेको हो ।
नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरिएको नगर कार्यालयले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ,उपप्रमुख खड्गमाया पराजुलीलगायतले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
अर्जुनधारा नगरपालिकाले यस नगरपालिका क्षेत्र भित्र रही भाषा,कला,साहित्य तथा संगीतको क्षेत्रमा अनवरत साधनारत व्यक्तित्वलाई नगद सहित प्रत्येक वर्ष´दीर्घ साहित्य सेवा सम्मान´बाट सम्मान गर्दै आएको छ। यस अघि सराेज ओली,विष्णुकुमार भट्टराई,हस्त परियार, कालीबहादुर थापा र कृष्ण बराललाई यो सम्मान प्रदान गरिसकिएको छ।
आधुनिक नेपाली साहित्यका एक प्रभावशाली र लोकप्रिय साहित्यकार हुन् धरावासी।उहाँ विशेषगरी उपन्यास,कथा,निबन्ध र समालोचनाका क्षेत्रमा प्रख्यात हुनुहुन्छ।
प्रसिद्ध उपन्यास`राधा´का लागि उहाँले वि.सं. २०६२ को मदन पुरस्कार प्राप्त गर्नुभएको थियो। 'झोला' मा आधारित रहेर चलचित्र समेत निर्माण गरिएको छ।नेपाली साहित्यमा'लीलालेखन'को प्रवर्तकका रूपमा धरावासीलाई चिनिन्छ।धरावासीका चर्चित कृतिहरूमा शरणार्थी,झोला, आधा बाटो,टुँडाल,अर्धकट्टी,पाण्डुलिपि लगायत पच्चीसवटा कृति प्रकाशित छन्।
कार्यक्रममा साहित्यकारले कविता,गीत,गजल लगायत रचना प्रस्तुत गरिएको थियो।
नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवम् औचित्यमाथि उपप्रमुख पराजुलीले प्रकाश पार्नुभयो।समितिकी संयोजक कञ्चना काफ्लेले सहभागीलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गर्नुभएको थियो ।