साहित्यिक पत्रकार संघद्धारा श्रेष्ठका कृतिहरु लोकार्पण
झापा ११ माघ/साहित्यिक पत्रकार संघले 'जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी' र 'पूर्ण बहादुर श्रेष्ठ 'व्यथित'का गद्य रचनाहरू' तथा 'नशा नशामा' गीतको लोकार्पण गर्यो ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा दुबै कृतिहरू र गीतको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ लगायत व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो।
`नशा नशामा' गीतमा शब्द नरेन्द्रबहादुर श्रेष्ठका रहेका छन् भने स्वर तथा सङ्गीत चर्चित सङ्गीतकार नरहरि प्रेमीको रहेको छ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘पूर्ण बहादुर श्रेष्ठ ‘ ‘व्यथित’का गद्य रचनाहरू’कोे चर्चा गरे भने वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थमाथि चर्चा गरे ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी,चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित कलाकार दिनेश डिसीले नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य राखे।
कार्यक्रममा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र श्रीमती निरू श्रेष्ठलाई अभिनन्दन समेत गरिएको थियो ।कवि मुरारी सिग्देलले कार्यक्रमको सहजीकरण गरेका थिए ।