साहित्य चौतारी झापाले मनायो १४२ औं लेखनाथ जयन्ती
झापा १७ पुस/साहित्य चौतारी झापाको आयोजनामा कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्ती बिहीबार मनाइएको छ।
अङ्ग्रेजी नयाँ वर्ष–२०२६तथा टोपी दिवस,खिच्रो दिवस तथा तमु ल्होसार समेतको मिश्रित दिवसको कार्यक्रम साहित्य चौतारीको सभाकक्षमा चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, शिक्षासेवी शनिश्चरे क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। 
कार्यक्रममा अध्यक्ष देवीभक्त श्रेष्ठले कार्यक्रमबारे जानकारी तथा कवि शिरोमणि पौड्यालको ‘काल महिमा’ कविता लयमा वाचन गर्नुभएको थियोे ।
प्रमुख अतिथि मोहन ओलीले व्यानर वाचन गरेर सुरु भएको कार्यक्रममा सल्लाहकार अनिरुद्र ओलीले राष्ट्रकवि माधव घिमिरेको रचना र नातीकाजीको सङ्गीत रहेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !’ बोलको गीत गाएर सुनाउनु भयो । यस्तै गरी कवि शिरोमणि लेखनाथ तथा आजका टोपी दिवस, खिच्रो दिवस, तमु ल्होसार बारेमा विद्वानहरु विनोद खनाल, डिपि शर्मा, राजकुमार पोखरेल, केशव आचार्य, राजेन्द्र सङ्ग्रौला, पुण्यप्रसाद खरेलआदिले मन्तव्य राख्नुभयो ।
चौतारीका सचिव तुलसी निरौलाको सन्चालन तथा उपाध्यक्ष हिम्मत नेम्बाङको स्वागत मन्तव्य रहेको थियो ।
सरोज वत्सले मेरो टोपी–गीत गाएर सुनाउनुभयो भने आदित्य अधिकारी, लीला अनमोल, हस्त परियार, बाल कलाकारद्वय रचित बस्नेत र रुस्बु बस्नेतले मिठामिठा गीत गाएर सुनाउनु भयो । कृष्ण सुवेदी निराकार, केशव आचार्य, प्रमोद दाहालले कविता सुनाउनु भयो ।
सहभागी सबैलाई आज आयोजकले खिच्रो, खिर तथा सेलरोटी सहितको खाजा खुवाउनु भयो । 