राममाया बिमलीको ´जीवनका कथाहरु` आत्मसंस्मरात्मक कृति लोकार्पण
झापा३०चैत्र/राममाया बिमलीको आत्मसंस्मरात्मक कृति ‘जीवनका कथाहरु‘ को लोकार्पण आइतबार गरिएकाे छ।
धुम्वाराहीस्थित सूर्य इभेन्ट्सको भानु हलमा आयोजित कार्यक्रम मुक्तिनाथ-भद्रमाया-राममाया बिमली प्रतिष्ठानको आयोजनामा भएको हो।राममाया बिमलीको ९५ औं जन्मोत्सवका अवसरमा उनको कृतिलाई प्रतिष्ठानले लोकार्पण गरेको हो।
लेखक,साहित्यकार रामकुमार बिमलीद्वारा लेखन-सम्पादन भएको उक्त कृतिमा पूर्वी पहाडी जीवनका विगतका एकसय वर्षको सामाजिक अवस्थामा महिलाहरुले भोगेको जीवनको यथार्थ कथा छ। ९५ वर्षीय राममाया बिमलीको उपस्थितिमा संस्थाका नरप्रसाद बिमलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि थिए। लेखक, साहित्यकारहरू,पूर्व सांसद कुलप्रसाद उप्रेती, सीता गुरुङलगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
सहित्यकार, समालोचक डा. बिन्दु शर्माले कृतिमाथि चर्चा र समीक्षा गर्दै कृतिमा भएका नयाँ प्रयोग र विषयहरुको बारेमा चर्चा गरे। बरिष्ठ साहित्यकार कृष्ण धरावासीले कृतिबारे चर्चा गर्दै परिवार र कृतिका बिचको तादम्यताका विषय उठाएका थिए।
कार्यक्रममा सहभागी साहित्यकार, समालोचक, प्राडा. हेमनाथ पौडेलले कृतिमाथि गहन चर्चा गर्दै प्रस्तुत कृति समाज विज्ञानको एक अनौपचारिक अध्यायन सामग्री भएको तथा यसको रचना पक्ष कुनै औपन्यासिक रचना भन्दा कम नभएको भनि कृतिलाई विशिष्ठ रुपमा सृजना भएको बताए।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा प्रसाद उप्रेतीले आठराई र सेरोफेरोको पृष्ठभूमि भएको यस कृतिले त्यस क्षेत्रको जनजीवनको इतिहास र नातासम्वन्धहरुको नालीबेलीका पक्षमा पनि ऐतिहासिक अध्यायन हुने बताए।