पत्रकार विपुल पोखरेलको कृति ‘सङ्कल्पन’ सार्वजनिक
झापा, चैत ४ गते । मङ्गलबार पत्रकार विपुल पोखरेलको कृति ‘सङ्कल्पन’ सार्वजनिक भएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष पोखरेलको सो कृति पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्य सम्पन्न एक कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी युवाको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै हालै सम्पन्न निर्वाचनबाट प्राप्त दुई तिहाइनजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो भने ” नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्नुभयो । उहाँले अब विगतका गल्ती नदोहोर्याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पोखरेलद्वारा प्रकाशित पुस्तकले अखबारी लेखनबाट विचार निर्माण गर्न सक्ने कुरामा जोड दिनुभयो । पुस्तकभित्र लोकतन्त्र, मिडिया, राजनीतिक सामाजिक सिद्धान्तका कुरा र २०७२ सालको संविधानका कुरा मुख्य पाटोमा रहेको उहाँको भनाइ छ ।
पत्रकार बबिता बस्नेतले पुस्तकभित्रका लेखहरू सङ्ग्रह मात्रै नभएर समयको दस्ताबेज पनि भएको बताउनुभयो । उहाँले पुस्तकमा लेखकले युवाको भावना र लोकतन्त्रको सबलीकरणबारे दूरदृष्टि प्रस्तुत गरेको उल्लेख गर्नुभयो । लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई सङ्कलन गरेर पुस्तकका रूपमा ल्याएको बताउनुभयो । पुस्तकलाई गोरक्ष राष्ट्रिय दैनिकले प्रकाशनमा ल्याएको हो ।