पशुपति घिमिरेको 'तीन महादेशका केही तरङ्ग' नियात्रा संग्रह सार्वजनिक
झापा३चैत्र/नियात्राकार पशुपति घिमिरेको नयाँ कृति ‘तीन महादेशका केही तरङ्ग’ शनिबार सार्वजनिक भएको छ ।
राजधानीमा सम्पन्न एक समारोहमा प्राडा गोविन्दराज भट्टराई, विश्व साइकलयात्री एवम् नियात्राकार पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ, कवि प्रल्हाद पोखरेल, निबन्धकार कुमारी लामा र नियात्रा साहित्यमा कलम चलाउँदै आएका लेखक घिमिरेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथि प्राडा भट्टराईले सिर्जना कहिल्यै पूर्ण नहुने बताए । ‘यो यस्तो यात्रा हो, जसमा श्रष्टाले जीवनभर नयाँ–नयाँ पर्वत चढिरहनुपर्छ,’ उनले भने 'लेखकको सरल भाषाशैलीले यस कृतिलाई विशिष्ट बनाएको छ ।'
विश्व साइकलयात्री पुष्कर शाहले घिमिरेको कृतिले पाठकहरूमा घुमफिरको चाहना जगाउने बताए। 'जीवनदर्शन र भौतिक विज्ञानजस्ता गहन विषयलाई समेत सहज ढङ्गले पाठकसमक्ष पुर्याउनु घिमिरेको काव्यिक प्रतिभाको प्रमाण हो,' शाहले भने । लेखक घिमिरेले यस्ता विशिष्ट व्यक्तिहरूबिच आफ्नो कृति लोकार्पण हुनु आफ्ना लागि विशेष क्षण भएको उनले बताए ।
कार्यक्रममा लेखक अनिता कोइराला, नियात्राकार राजेन्द्रमान डङ्गोल, लेखक नारायण नेपाल, भाषा सम्पादक पारस नेपाल, पत्रकार ओमआस्था राई लगायत साहित्यप्रेमीको सहभागिता थियो ।