पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श

दिलिप घिमिरे · वैशाख १३, २०८३ ८:५९ PM
Cover Image for News

झापा १३ वैशाख/युवा लेखक,पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले आइतबार अपरान्ह नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो । 

उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ,जसमा चितवनको तत्कालीन आर्थिक,सामाजिक,सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ । 
पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले बखान उपन्यास बखानसिंह गुरुङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए।`बखानमा सात सालको क्रान्तिको कथा,त्यो बेलाको जीवनको तस्वीर,सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ´ समीरले भने - `चितवनको बस्ती विकासको इतिहास, नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ ।´ 

कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए।चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरुङले पुर्‍याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई धन्यवाद दिए । 

कार्यक्रमलाई कवि, निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि `कुमाता´, `मोम्चो´ र `ड्रीमी आइज´ कथासङ्ग्रह प्रकाशित भएको समाचार स्रष्टा मिलन समीरबाट प्राप्त भएको छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।