पानीको रङ

निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी · भदौ १३, २०८१ ७:५६ PM
Cover Image for News

सधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ–
पानीको रङ कस्तो हुन्छ –
कति पटक हेरियो पानीमा लहरहरुको ओहोरदोहोर
हिमालको छाया, पाखाको प्रतिविम्ब
त्यो भन्दा धेरै हेरियो आफ्नै अनुहारको ढलपल चित्र पानीमै
निलो आकाश पानीमै टल्कियो
ताराहरूको झिलमिल हल्लिरहृयो पानीभित्रै
बादलका बुट्टाहरुले कति खेले लुकामारी यही पानीमा, देखियो
तैपनि थाहा लागेन–
पानीको रङ कस्तो हुन्छ –

अतीतका सुदूर स्मृतिमा
जब तिमी उभिन्थ्यौ किनारमा
तिमी जस्तै लाग्थ्यो पानीको रङ
म उभिन्थेँ मै जस्तो
तिमी नै भन–
पानीको रङ तिमी जस्तो कि म जस्तो –
तिमी हाँस्दा गुलाबी हाँसो हाँस्थ्यो पानी पनि
तिमी रुँदा कालो बादल लाग्थ्यो पानीको सतहभरि
पानी त गुलाबी पनि बन्थ्यो छिनमै
र अँध्यारिन्थ्यो पनि एक्कासि ।

यसपालि पनि लखेटिएको छु
प्रश्नका नीलडाम छन् शरीरभरि
नेपथ्यमा सोधिरहन्छ समय घरिघरि–
पानीको रङ कस्तो हुन्छ –
आज लाग्दै छ–
सायद पानीको रङ
तिम्रो र मेरो सम्बन्धको रङ जस्तै हुन्छ
सम्बन्ध जसको कुनै नाम छैन
पानी जसको कुनै रङ छैन ।

०००

ट्यागहरू:
सहित्य कविता sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५