न्युटन्स् एजुकेसनद्वारा हरिकुमार प्रसाई स्मृति साहित्य लेखन कार्यशाला सम्पन्न
झापा १२माघ/न्युटन्स् एजुकेसन विद्यालयले स्वर्गीय हरिकुमार प्रसाईको स्मृतिमा साहित्य लेखन कार्यशाला गोष्ठी आइतबार सम्पन्न गरेको छ।
झापा बिर्तामोड स्थित विद्यालयको सभा हलमा आयोजित कार्यक्रम विद्यालयका निर्देशक आशिष प्रसाईको अध्यक्षता तथा साहित्यकार तथा गजलकार केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले साहित्य लेखन कार्यशाला गोष्ठीले विद्यार्थीहरूलाई सृजनशील बनाउने र अतिरिक्त लेखन क्षमतामा आफूलाई निखार्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
कार्यशाला गोष्ठीमा संस्थागत तथा सामुदायिक विद्यालयका१५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन सत्र विद्यालयकी शिक्षिका पवित्र पौडेलले सञ्चालन गरेकी थिइन् भने दोस्रो चरणकाे कार्यक्रम सञ्चालन लेखक तथा पठन संस्कृति वर्ष २०२६ अभियानका संयोजक तीर्थ सिग्देलले गर्नुभएको थियो।
यसैगरी कविता तथा रचना वाचन कार्यक्रम साहित्यकार खगिन्द्रा खुसीले सन्चालन गरेकी थिइन । कार्यक्रममा साहित्यकार तुलसीप्रसाद भट्टराई, जानु धिताल, गजलकार तथा वरिष्ठ साहित्यकार केशव आचार्य, गजलकार तथा सञ्चारकर्मी लीला अनमोल, खगेन्द्रा खुसी, अम्बिका कडरिया, पुरुषोत्तम ढुङ्गेल लगायतले आफ्ना सिर्जना—गजल तथा कवितामार्फत कार्यक्रमलाई थप रौनक प्रदान गर्नुभएको थियो।
कार्यशालाअन्तर्गत निबन्ध लेखन सम्बन्धी कार्यशाला लेखक तथा पत्रकार तीर्थ सिग्देलले तथा कविता तथा गजल लेखन सम्बन्धी कार्यशाला गजलकार तथा सञ्चारकर्मी लीला अनमोलले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा शैक्षिक संघ–संस्थाका प्रतिनिधि, साहित्यकार, गजलकार तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।