निर्मोही व्यासलाई पवन आलोक नियात्रा सम्मान
झापा ९ माघ/पवन आलोक नियात्रा सम्मान २०८१ नियात्राकार निर्मोही व्यासलाई प्रदान गरिएको छ।
शुक्रबार सरस्वती पूजाका दिन नियात्रा समाज नेपालद्वारा आयोजित एक विशेष कार्यक्रममा उक्त सम्मान समर्पण गरिएको हो।नियात्राकार पवन आलोकका नाममा उनकी धर्मपत्नी रेखा कँडेलद्वारा स्थापना गरिएको पवन आलोक नियात्रा पुरस्कार नगद राशि ५०,००१ /- रुपैयाँ प्रदान गरिएको छ।
नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाई सभापति रहनु भएको कार्यक्रमका प्रमुख अतिथि नियात्रा लेखक घनश्याम राजकर्णिकार रहेका थिए। अन्य अतिथि व्यक्तित्वहरूमा समाजका पूर्व पदाधिकारीहरू चन्द्रप्रसाद भट्टराई र प्रतीक ढकाल, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, इल्या भट्टराई तथा सम्मानका संस्थापक रेखा कँडेल रहेका थिए।
नियात्राकार निर्मोही व्यासलाई सम्मान समर्पण गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व घनश्याम राजकर्णिकारले नियात्राकारलाई सम्मान गरेर संस्था नै सम्मानित भएको बताउँदै उनले सम्मान स्थापनाकर्ता रेखा कँडेललाई धन्यवाद पनि दिएका थिए।
सभापतिको आसनबाट बोल्दै नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले धन भन्ने कुरा भोग गर्ने र दान गर्ने हो। रेखा कँडेलले पनि धन दान गरेरै सम्मानको काम गरेको बताउँदै दान गर्ने संस्कार वृद्धि हुँदै जाओस् भन्ने कामना पनि प्रकट गरेका थिए।
सम्मानित व्यक्तित्व निर्मोही व्यासले आफ्नो लेखन यात्राबारे बोल्दै २०१७ सालदेखि साहित्य लेखनमा लागेको र पहिलो रचना पनि नियात्रा नै रहेको बताएका थिए ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू चन्द्रप्रसाद भट्टराई, प्रतीक ढकाल,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन तथा पवन आलोक नियात्रा पुरस्कारबाट सम्मानित भइसकेकी ईल्या भट्टराईले नियात्राकार व्यासको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले स्वागत मन्तव्य राखेका थिए। पुतलीसडकस्थित ग्रीनलीफ रेष्टुरेन्टमा भएको कार्यक्रमको सञ्चालन समाजकी महासचिव भवानी खतिवडाले गरेकी थिइन्।