नेपाल मुक्तक प्रतिष्ठान विराटनगरबाट चार स्रष्टा पुरस्कृत
झापा १८ माघ/नेपाल मुक्तक प्रतिष्ठान,कोशी प्रदेशले मुक्तक दिवसको अवसरमा चार जना स्रष्टाहरुलाई शनिबार पुरस्कृत गरिएको छ।
२०८२ सालमा प्रदान गर्ने घोषणा गरिएका विभिन्न साहित्यिक पुरस्कारहरू नेपाली साहित्यका विविध विधा र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकाे चार जना स्रष्टालाई एक विशेष समारोहबीच पुरस्कार समर्पण गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, साहित्यकारहरू बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाईं, प्राज्ञ गंगा सुवेदी,पुरस्कार दाताहरू तथा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतका अग्रज स्रष्टाहरूले संयुक्त रूपमा पुरस्कार समर्पण गर्नुभएको थियो।

छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार ११ हजार रुपैयाँ नगदसहित पाँच दशकभन्दा लामो समयदेखि लेखन,सम्पादन तथा संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याउनुभएकाे साहित्यकार मधु पोखरेललाई प्रदान गरिएको छ भने माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार ११ हजार रुपैयाँ नगदसहित नेपाली मुक्तक साहित्यका समर्पित साधक शिव अधिकारी (इलामे जेठो) लाई समर्पण गरिएको छ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व तथा कृतित्वबारे कविहरू विन्दु दाहाल ‘मुकदर्शक’, नानुमैया दाहाल,गोपाल निर्भिक र लक्ष्मी पोखरेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले यस्ता कार्यक्रमहरूले नेपाली साहित्यको उन्नयन र विकासमा दरिलो खम्बाका रूपमा काम गर्ने बताउनुभयो।
कार्यक्रम प्रतिष्ठानका सचिव मदन भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो भने कोशी प्रदेशका साहित्यकार तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।