'नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका' बृहत् ग्रन्थ लोकार्पण
झापा २९ चैत्र /‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थको लोकार्पण गरिएको छ।
महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नइ एकेडेमीद्वारा प्रकाशित उक्त बृहत् ग्रन्थको नामक लोकार्पण गरेका हुन्।
नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा तयार पारिएको उक्त ग्रन्थको लोकार्पण गर्दै प्रमुख अतिथि डा. त्रिपाठीले नइ एकेडेमीले आफ्नै आन्तरिक साधनस्रोतमा आयोजना गरेको यो ऐतिहासिक तीन दिने सम्मेलनमा उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिकका साथै सुनमा सुगन्धको योगजस्तो भएको बताए ।
रोयल साइजमा ८७२ पृष्ठमा विस्तरित उक्त ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयबारे २५ ओटा आलेख समेटिएका छन् । यसमा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन, अनुसन्धान कार्यको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त समावेश गरिएको छ ।
यसैगरी सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा. त्रिभुवन बरई तथा नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य राखेका थिए ।