नेपाली भाषा पेशागत तथा भाषागत समस्या र समाधान विषयक अन्तरक्रिया

दिलिप घिमिरे · माघ २९, २०८२ १:१२ AM
Cover Image for News

झापा २७ माघ/झापाको शिवसताक्षीमा नेपाली भाषा शिक्षणका क्रममा देखा परिरहेका पेशागत तथा भाषागत समस्या र तिनका समाधानका उपायबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

सताक्षीधाम साहित्य संगमको आयोजनामा विद्यालय तहमा नेपाली भाषाशिक्षणका क्रममा उत्पन्न भाषागत समस्याहरूको पहिचान गर्दै व्यावहारिक समाधान खोज्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको पहिलो सत्रमा विषयवस्तुको सैद्धान्तिक तथा व्यवहारिक पक्ष प्रस्तुत गरिएको थियो भने दोस्रो सत्रमा सहभागीहरूलाई साना समूहमा विभाजन गरी समूहगत छलफल तथा अन्तरक्रिया गराइएको थियो। छलफलबाट प्राप्त निष्कर्षहरू प्रत्येक समूहका टोली नेताद्वारा प्रस्तुत गरिनुका साथै यसले कार्यक्रमलाई थप जीवन्त र प्रभावकारी बनाएको सताक्षीधाम साहित्य संगमले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले नेपाली भाषा,व्याकरण र साहित्य एक–अर्काका पूरक भएको उल्लेख गर्नुभयो। नेपाली भाषा समयानुकूल परिमार्जित हुँदै जाँदा विभिन्न समस्याहरू देखा परेको बताउँदै उहाँले त्यसको समाधानका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो तथा कार्यक्रमको आयोजनाका लागि सताक्षीधाम साहित्य संगमलाई धन्यवाद ज्ञापन गर्नुभयो।
 अन्तरक्रिया कार्यक्रममा जनता बहुमुखी क्याम्पस, इटहरीका प्राध्यापक मदनराज बरालले सहजीकरण गर्नुभएको थियो।

अन्तरक्रियापछि सहभागीतर्फबाट भीमप्रसाद अधिकारी र निस्मा राईले आफ्ना प्रतिक्रिया तथा सुझाव प्रस्तुत गर्नुभएको थियो।
 कार्यक्रममा सहभागीहरूले विद्यालय तहको नेपाली भाषाशिक्षणमा देखिएका समस्यामाथि गम्भीर विमर्श गर्दै समाधानतर्फ उन्मुख हुन प्रेरणादायी तथा उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका छन्।

फोटो
संस्थाका उपाध्यक्ष पदमप्रसाद दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष लोकमणि गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। संस्थाका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यादवप्रसाद घिमिरेले गर्नुभएको थियो।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत करिब ५० जना नेपाली भाषा शिक्षकहरूको सहभागिता रहेको थियो।

ट्यागहरू:
भाषा #शिक्षा #साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।