रातसँगै पलाएको सपना

कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे · भदौ ७, २०८३ १०:४७ AM
Cover Image for News

कवि-हाइओजा थेगिम 
कविता 
रातसँगै पलाएको सपना 

गोधूलिले डाँडालाई सिरानी लगाएपछि
 बज्रले पनि रोक्न सक्तैन रातलाई
 उज्यालाको छातीमा
 अँध्याराले गोली ठोकेपछि
 कुनै ढालले पनि रोक्न सक्तैन रातलाई
 बरु रातबाट उल्का र धूम्रकेतुहरू छुट्न सक्छन्
 आखिर यहाँ त निरन्तर रात आएकै हुन्छ
 अँध्याराले स्वर्णिम सपना पाएकै हुन्छ । 

एउटा पाइलाले कुल्चेर फूलका गुच्छाहरू
 अर्का पाइलाले कुल्चेर स्वर्णिम इच्छाहरू
 सहज या जबरजस्ती रातहरू आउँछन्
 रात आएपछि उसको वञ्जरभूमिमा
 धेरै-धेरै सपना पलाउने गर्छ
 रातसँगै पलाएका सपनाहरू
 प्रतीक्षाका विम्ब प्रतिविम्बहरू
 बुन्ने गर्छ रातसँग आफ्ना शुभ सपनाहरू
 तुन्ने गर्छ रातसँग आफ्ना अशुभ सपनाहरू 

सपनाका खात खातहरू कोंचेर ढाकरमा
 सगरमाथाको आरोहण सुरु गर्छ रातसँग
 खोइ, मुमताज पनि बिउँझिंदिन
 डराइरहेकी छे आफ्नै ताजमहलसँग
 सायद, कुम्भकर्ण सपना देख्दै होला

आखिर यहाँ त निरन्तर रात आएकै हुन्छ
 अँध्यारोसँग स्वर्णिम सपना पलाएकै हुन्छ ।
 रातको निष्पटतामा
 सपनाले हनिमुन मनाइरहेको बेला
 एकाध दोकाध सपनाहरू
 असनबाट निस्केर धरहरा चढेछन्
 गिज्याउन थाल्छ कुतुव मिनारबाट
 यदि इफेल टावरमा होचिँदै जान्छभने
 चढेर अझमाथि इफेलको टप टावरमा
 जब आकाश र धरतीको दुरी नाप्छ
 माथि आकाश अपरिमेय माथि छ
 तल जमिन अपरिमित तल छ
 फेरि यहाँ बग्रेल्ती सपनाहरू उम्रन थाल्छन्
 बुद्ध, प्लेटो, गान्धी, शेली र साइरस
 वासिङ्टन, पेरिस, यु.के. र टोकियो
 तर सपना त्यसो नहुन पनि सक्छ।
 डाक्टर, इञ्जिनियर, वकिल र पाइलट भएर
 सपनामाथि धेरै माथि उडिरहेको बेला
 अगाडि खस्यो भने क्षेप्यास्त्र बनेर रित्तो थालको
 पछाडि खस्योभने खडेरी बनेर हालवेहालको
 खोइ यहाँ त
 कसले सुनिदिने, यो रात आएको गन्थन ?
 कसले पढिदिने, यो सपना पलाएको विज्ञापन ? 

(रातसँगै पलाएको सपना कृतिबाट)

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६