कवि मञ्जुल'लाई 'विश्व ज्योति साहित्य सम्मान’अर्पण गरिने
झापा ३ चैत्र /गीतकार तथा गायक मेघराज नेपाल 'मञ्जुल'लाई यस वर्षको 'विश्व ज्योति साहित्य सम्मान’ अर्पण गरिने भएको छ ।
नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आगामी चैत्र २५ गते काठमाडौँमा आयोजना गरिने एक विशेष समारोहका बीच अग्रज सर्जक कवि 'मञ्जुल'लाई यस वर्षको 'विश्व ज्योति साहित्य सम्मान’ अर्पण गर्ने घोषणा गरेको छ ।
उक्त सम्मानमा एक सम्मानपत्र सहित नगद राशि ५१ हजार रुपैयाँ रहने कुरा संस्थाले जनाएको छ। गत वर्षदेखि समर्पण गर्न शुरु गरिएको 'विश्व ज्योति साहित्य सम्मान’ पहिलो वर्ष कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो ।
कविता तथा गीत लेखनमा क्रियाशील सर्जक मञ्जुलको जन्म २००३ साल फागुन महिनामा भोजपुरमा भएको हो । उहाँले २०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनबाट आफ्नो यात्रा प्रारम्भ गर्नु भएको थियो। त्यसैताका समाजका कतिपय विसङ्गति र बेथितिहरू प्रति असहमति जनाएर विद्रोह गर्दै उहाँ सहित केहि साथीहरू मिलेर राल्फा नामक एक सांस्कृतिक समूहको स्थापना गर्नु भयो, जसमा मञ्जुल, रामेश, रायन, अरिम आदि कलाकर्मीहरूको सक्रिय सहभागिता थियो ।
मञ्जुलका कविताकृति ‘साहिँली मोरीलाई’,संस्मरणकृति ‘सम्झनाका पाइलाहरू’,उपन्यास ‘छेकुडोल्मा’, कविताकृति ‘मृत्यु कविता’,जीवनी ‘पहाडजस्तो–बाटोजस्तो म’लगायत थुप्रै कृतिहरू प्रकाशित छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार, साझा पुरस्कारलगायतका पुरस्कारहरू प्राप्त गरिसकेका मञ्जुल यो उमेरमा पनि सिर्जनामा सक्रिय छन् र धेरैका लागि प्रेरणाका श्रोत पनि हुन्।