मनोहरा साहित्य समाजद्वारा खोलाघरे साहिंलोकृत ‘देउमाईका सुसेलीहरु’ लोकार्पित

दिलिप घिमिरे · वैशाख १३, २०८३ १:०९ PM
Cover Image for News

बैशाख१३ झापा/साहित्यकार खोलाघरे साहिंलोकृत ‘देउमाईका सुसेलीहरु’ पुस्तक विमोचन गरिएको छ । 

मनोहरा साहित्य समाजको ११२ औँ रचना वाचन शृङ्खलामा खोलाघरेको कृति विमोचन समेत सम्पन्न गरिएको हो।
समारोहमा समाजका समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे 'वेदमणि'को प्रमुख आतिथ्य तथा विश्वज्ञान पाठशालाका प्राचार्य मातृका कार्की,साहित्यकार छत्रभूषण दाहाल, खोदनाथ चापागाईं एवम् चार दर्जनजति साहित्यानुरागीको समुपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । 

विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार दुर्गा अधिकारी 'भँमरकोटे'ले  खोलाघरे साहिँलो एक बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । जापानबाट विश्वव्यापी बनेको हाइकुको स्वरूप वास्तवमा हाम्रै मौलिक परम्परा र ऋग्वैदिक ज्ञानको जगमा उभिएको बताए । उनले जसरी सिटामोलले शरीरको तापक्रमलाई साम्य पार्छ, त्यसरी नै नेपाली माटोको सुगन्ध बोकेको लोकलयबद्ध हाइकुले नेपाली साहित्यको तिर्खा मेट्ने सामर्थ्य राख्ने बताए । 

खोलाघरे साहिंलोको मुक्तक, गजल र छन्द कविता लगायत समग्र साहित्यिक क्षेत्रमा बृहत् योगदान दिएको प्रसंगको चर्चा गर्दै विमोचित कृति देउमाईको सुसेलीमा नेपालीपनको प्राण प्रतिबिम्बित भएकोमा कृति सफलताको कामना गरे । 
कार्यक्रमका प्रमुख अतिथि तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ ले प्रसिद्ध संस्कृत सूक्ति "काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम्" लाई उद्धृत गर्दै बुद्धिमान मानिसहरूको समय काव्य र शास्त्रको चिन्तन एवम् आनन्दमा व्यतीत हुने विचार व्यक्त गरे ।

कवि,प्रेमी र पागलको हृदयमा हुने एउटै प्रकारको निस्वार्थ भाव र तल्लीनताको चर्चा गर्दै उनले हाम्रा महान् ऋषिमुनिहरू पनि यस्तै उच्च चेतले युक्त रहेको हुनाले आज हामी सम्भ्रांत शिक्षा र संस्कारका धनि हुन सकेको बताउँदै खोलाघरेको लेखन सफलताले चुली चुमोस् भनि शुभकामना व्यक्त गरे । 

लोकार्पित कृतिका स्रष्टा खोलाघरे साहिँलोले आफ्नो रचनागर्भबारे प्रकाश पार्दै कृतिको जन्म हुनुमा समीक्षक दुर्गा अधिकारी‘भमरकोटे’को विशिष्ट भूमिका रहेको उल्लेख गरे।उनले विभिन्न चाडपर्व र विशेष अवसरहरूमा भमरकोटेको अनुरोधलाई शिरोधार्य गरी रचना गरिएका थुप्रै ‘सुसेली’हरूलाई नै परिमार्जन र थप विषयवस्तु समेटेर पुस्तकाकार रूप दिएको बताए । 

यसैगरी कार्यक्रमका अतिथि विशिष्ट अतिथि छत्रभूषण दाहालले कृतिको प्रशंसा गर्दै आफूलाई एउटै बसाईमा सिङ्गो पुस्तक पढिसकेको अनुभूति भएको धारणा व्यक्त गरे।अर्का अतिथि खोदनाथ चापागाईँले आजको रचना वाचनको श्रवणबाट आफूले कुनै पवित्र भजन श्रवण गरे झैँ पारलौकिक आनन्द प्राप्त गरेको अनुभूति सुनाए। 

अध्यक्ष डिल्लीराज अर्यालद्वारा उपस्थित स्रष्टाहरूलाई शब्दपुष्पद्वारा स्वागत गर्दै रचना वाचनको आरम्भ गरिएको थियो।सोही क्रममा ओम आचार्य,सञ्जय सोती,मुकुन्दराज शिवाकोटी, दीपकप्रसाद ओली,टीका मिलन,भालचन्द्र भण्डारी, सूर्यप्रसाद डुम्रे,बलराम बिष्ट,मधुसूदनप्रसाद घिमिरे, आल्फीफोहेन फाक्लुप्पा,केशव ज्ञवाली,विद्या अनामिका तिवारी,कमला बोहरा,मिसन अधिकारी, प्रमोद भण्डारी,पदम दाहाल,रूबी सत्याल,दुर्गा घिमिरे,सरिता दुलाल घिमिरे,अनन्तकुमार बस्नेत,केशव घिमिरे,सरिता तिमल्सिना,जी.के. एन. खडेरी,नवीन पल्लव,कविराज घिमिरे,बद्रीप्रसाद पुडासैनी,जयराम बिडारी,खोदनाथ चापागाईं, एम.के.पराशर र खोलाघरे साहिँलाले आ-आफ्ना रचना वाचन गरेका थिए। 

स्रष्टा अप्सरा पोखरेलले आफ्ना रचना वाचनसहित कुशलतापूर्वक सहजीकरण गरेको उक्त कार्यक्रममा गोविन्दप्रसाद पोखरेल,बाबुकाजी कार्की,कपिल अर्याल र किरण खनाल लगायतका साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो । 
संस्थाका सचिव एवम् स्रष्टा भावकेशर बरालद्वारा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति कृतज्ञता प्रकट गरे।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू