मणिपुरका भवानी अधिकारी र नेपालीका नविन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’
झापा २७ साउन/भारतको मणिपुरका साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ प्रदान गरिएको छ।
दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा दिवंगत साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको स्मृतिमा आयोजित कार्यक्रममा अधिकारी र सुब्बालाई संयुक्त रूपमा जनही १ लाख ५० हजार रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिएको हो। पूर्वमन्त्रीहरू शान्ता मानवी र गिरिराजमणि पोखरेल तथा दाहाल यज्ञनिधि सुधा सदनकी अध्यक्ष सुधा दाहालले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा पूर्वमन्त्री तथा संविधानसभा सदस्य शान्ता मानवीले नेपाली साहित्यको प्रवर्द्धन तथा रेडियो नेपालमार्फत गाउँघर र तल्लो तहमा सिर्जना भएका साहित्यिक कृतिहरूलाई आमजनतामाझ पुर्याउन दाहाल यज्ञनिधिले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गरिन्। त्यस्तै, पूर्वमन्त्री गिरिराजमणि पोखरेलले भाषा, साहित्य र शिक्षाको क्षेत्रमा दाहाल यज्ञनिधिले पुर्याएको अविस्मरणीय योगदानको स्मरण गरे।
सुधा दाहालका अनुसार मणिपुरमा नेपाली साहित्य र पाठ्यक्रमको अध्यापन तथा विकासमा निरन्तर योगदान पुर्याउँदै आएका कारण साहित्यकार अधिकारीलाई सम्मान गरिएको हो। निर्देशक सुब्बालाई भने नेपाली चलचित्रमा मौलिक सौन्दर्यशास्त्र निर्माण गर्नुका साथै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चमा पुर्याउन योगदान गरेकाले सम्मान गरिएको हो।
साहित्यकार अधिकारीका ‘कोरौगी मारोक मंगल’, ‘मनका आवेग’, ‘आँखिझ्यालभित्र मणिपुर’, ‘मेरो लोकटक’ र ‘उन्मुक्त उडान’ लगायतका कृति प्रकाशित छन्। उनले ‘एउटा पिस्तोल एउटा कुण्ड पुष्प’ र ‘मरुभूमि’ लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादनसमेत गरेका छन्।
त्यसैगरी, नेपाली चलचित्रमा मौलिकताको अग्रणी पहिचान बनाएका नवीन सुब्बाले सन् १९८० को दशक अर्थात् वि.सं. २०४० को दशकमा पत्रकारिता र चलचित्र समीक्षामार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। उनले ‘तरेबा’, ‘खाँग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गुडबाई काठमाडौं’, ‘सिंहदरबार २’ र ‘ए रोड टु अ भिलेज’ लगायत चर्चित चलचित्र तथा शृङ्खला निर्देशन गरेका छन्। उनी अहिले आफ्नो आगामी चलचित्र परियोजना ‘लाहुरे जुत्ता’ को तयारीमा छन्।

दाहाल यज्ञनिधिको जन्म वि.सं. २०१० साउन ८ गते (२४ जुलाई १९५३) खोटाङमा भएको थियो। उनको निधन वि.सं. २०७५ साउन २५ गते (१० अगस्ट २०१८) भएको थियो। उनका प्रकाशित कृतिहरूमा ‘जदौका निबन्ध’, ‘जदौका ३४ निबन्ध’, ‘खुला आकाश’ (संगीत एल्बम) र ‘दाहाल यज्ञनिधिका कविता’ लगायत उनका जीवन र दृष्टिकोण प्रतिबिम्बित गर्ने विभिन्न जीवनीपरक कृतिहरू रहेका छन्।