महेश्वर पन्तको 'धर्तीमुनिका तारा’ कथासङ्ग्रह लोकार्पण
झापा , चैत २ । राजधानीमा 'धर्तीमुनिका तारा’ कथासङ्ग्रहको लोकार्पण भएको छ स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित उक्त कथा सङ्ग्रहको एक साहित्यिक समारोहबीच लोकार्पण गरिएको हो ।
साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वर तिमिल्सिनाले गर्नुभएकाे थियाे भने अनेसासका अध्यक्ष राजेन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे ।
सभापति तिमिल्सिना, विशेष अतिथि राधेश्याम लेकाली तथा विशेष वक्ताहरू गोविन्दमानसिंह कार्की, रामप्रसाद दाहाल, सन्ध्या पहाडी, स्रष्टा पन्त, राजेन्द्र केसी, सम्पादक रमेश दाहाल तथा ऋषभदेव घिमिरेलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।
सो अवसरमा अनेसास नेपाल च्याप्टरले स्रष्टा महेश्वर पन्तलाई खादा, माला तथा दोसल्लासहित “स्रष्टा प्रज्ञा सम्मान–२०८२” प्रदान गरी सम्मानित गरेको थियो।
कार्यक्रममा विशेष वक्ता सन्ध्या पहाडीले कथासङ्ग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुहरूबारे विवेचनात्मक टिप्पणी गर्नुभएकाे थियाे । प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु र साहित्यिक महत्त्वमाथि चर्चा गर्नुभएकाे थियाे भने प्रा.डा. रामप्रसाद दाहालले कथाभित्र निहित जीवनानुभूति र पाठकमा पर्ने प्रभावबारे विश्लेषण प्रस्तुत गर्नुभएकाे थियाे ।
स्रष्टा महेश्वर पन्तले कथा लेखनका प्रेरणा–स्रोत, विषय चयन र पात्रहरूसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव साझा गर्नुभएकाे थियाे । पन्तका ‘मुन्द्री’, ‘नबोल्नेहरू’, ‘फुर्लुङ’ र ‘बौलाको डायरी’ लगायतका कृतिहरू पाठकमाझ लोकप्रिय रहँदै आएका छन्।
कार्यक्रममा साहित्यकार मदनराज थापा, अनेसास गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र के.सी. ‘देवु’, अनेसास हवाई च्याप्टरकी अध्यक्ष अमृता स्मृतिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
ऋषभदेव घिमिरेद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका तर्फबाट प्रमुख अतिथि भूपाल राई तथा अन्य वक्ताहरूलाई स्मृतिचिह्न प्रदान गरिएको थियो।
जिएमपी तिमिल्सिना फाउन्डेसनको सभाहलमा सम्पन्न कार्यक्रममा साहित्यकार, संगीतकार तथा साहित्यानुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त कृतिको वितरण कालिन्चोक बुक डिस्ट्रीब्युटर्सले गर्ने जनाएको छ। कृतिको बिक्रीबाट सङ्कलित रकम नेपाली भाषा–साहित्यको प्रवर्द्धन तथा सामाजिक विकासका कार्यमा प्रयोग गरिने जानकारी प्राप्त भएको छ।