‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण प्रकाशित

दिलिप घिमिरे · असोज १४, २०८३ ७:४८ PM
Cover Image for News

झापा १४असोज /महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । 

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित पुस्तकको विमोचन त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल, द स्टोरी किचेनका अध्यक्ष डा. जया लुईंटेल, कार्यकारी सदस्य निर्मला ज्ञवाली, विमोचन सम्पादक तथा मेन्टर डा. हरिकला अधिकारी, लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की तथा फेलो/लेखकहरूले संयुक्त रूपमा गरे।

पुस्तकमा नेपालका महिला तथा महिलाभित्रका विविध समुदायका अनुभव, भोगाइ, संघर्ष र राजनीतिक तथा सामाजिक आन्दोलनमा उनीहरूले गरेको योगदान समेटिएको छ । पुस्तकमा २५ जना फेलो/लेखकका आलेख समावेश छन्। 

आलेखहरूमा महिलाभित्रको विविधताका साथै दलित तथा आदिवासी जनजाति समुदायका अपाङ्गता भएका महिलाले भोगिरहेका बहुस्तरीय विभेद र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई समेटिएको छ । 

पुस्तकको समीक्षा गर्दै त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले नेपाली महिला आन्दोलनका लागि पुस्तक महत्त्वपूर्ण रहेको बताए । उनले नेपाली समाजभित्रका वैकल्पिक विषय पहिचान गरी उठान गरिएको बताए । 

अर्का समीक्षक समाजशास्त्री डा. मीना पौडेलले एउटै वर्ग र उस्तै इतिहास लेखन भइरहेको सन्दर्भमा पुस्तक इतिहास लेखनको वैकल्पिक यात्रा भएको बताइन् । परम्परागत अनुसन्धान विधिले तथ्याङ्कमा केन्द्रित भएर गरिने अनुसन्धानभन्दा महिलावादी अनुसन्धान विधि फरक रहेको उनले बताइन् । 

कार्यक्रमका प्रमुख अतिथि डिन प्रा.डा. दुबीनन्द ढकालले पुस्तकमा उल्लेखित विषयमार्फत समाजमा बाहिर नआएका धेरै विषय खोतलिएको बताए । 

फेलोसिपअन्तर्गत पहिलो र दोस्रो ब्याचका २१ जना फेलो लेखकले लेखेका आलेखको संग्रह ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह शृङ्खला–१’ सन् २०२४ मा प्रकाशन भइसकेको छ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू