महाकाव्यकार सोमराज अभयका केही कृतिहरूको चर्चा
महाकाव्यकार सोमराज अभयका केही कृतिहरूको चर्चा -
- खोलाघरे साहिंलो
गत साल फागुन ४ गते । म विद्वद्वर ,महाकवि सोमराज अभयको घर विराटनगर खारजी कोहबरा टोलमा उहाँको दर्शन गर्नका लागि गएको थिएँ । निकै वर्ष भएको थियो उहाँसँग भेट नभएको । गुरु र गुरुआमा दुवैको दर्शन गर्न पाउँदा र उहाँहरू सकुशल रहनुभएको पाउँदा खुशी लाग्यो।१ घण्टाजति उहाँसँग भलाकुसारी गरेर म विदा हुनलाग्दा उहाँका कृतिहरू दिनुभयो जम्मा नौ वटा । ती सबै पुस्तक एकैचोटि पढेर सकिएनन् ,पालासारले पढ्दा,अरू कामलाई पनि समय दिंदा १० महिना बितिसकेछ । हुन ता कति जनाका एउटा मात्रै दिएका पनि पढ्नुपर्ने थाकमा छन् । यी पुस्तक भने आदरणीय व्यक्तिले दिनुभएको,धेरै समय पनि भैसकेको र आफ्नै मनमा " के भन्नुभयो होला? यतिञ्जेल चुपचाप बस्ता के ठान्नुभयो होला ? जस्ता प्रश्न उठिरहेका हुनाले अरूको पालो मिच्तै भए पनि पढेको हुँ । पढिसकेकालाई यथासम्भव यसो २/४ शब्दमा सम्बोधन गर्ने गर्छु । हरेक पुस्तक पढेकै समयमा थोरैतिना टिपोट गर्दै राखेको थिएँ,तिनै टिपोटलाई यहाँ समवेत गरेर प्रस्तुत गरेको हुँ । पढें है भन्ने छोटकरीमा सबुत उभ्याएकोसम्म हुँ ।
१."लाटे कामी"
शार्दूलविक्रीडित छन्दका जम्मा ६९ श्लोक भएको " लाटे कामी" खण्डकाव्य अजगुते नामका समाजसेवी ,विकासप्रेमी एक भद्र कामी जो नि:सन्तान थिए तिनको वृत्त हो । आरनको काम गरेर जनतालाई सेवा दिनुका साथै आफ्नै श्रम र सम्पतिले खाँदबारी क्षेत्रमा उनले गरेका निस्वार्थ विकासका कामले उनी मृत्युपछि पनि अमर भएका छन्। यो काव्यमा कविको उदार भावना,मान्छे सबै समान हुन्,छूत अछूत हुन्न भन्ने प्रष्ट देखिन्छ ।
२." जनताको छोरो"
" जनताको छोरो" शार्दूलविक्रीडित छन्दका १०० श्लोकमा रचित खण्डकाव्य हो । यसमा अधिकतम ओजगुणका अभिव्यक्ति छन् । वर्गीय चेतनाको निकै सशक्त प्रस्तुति भन्दा पनि फरक पर्दैन । सामन्ती राज्य व्यवस्था र समाज व्यवस्थाप्रति घोर विद्रोही भावमा कुर्लिएका शब्दहरूले पाठकलाई नै जुरुक्कै उठेर कुदीहाल्नुजस्तो पार्छन् । शोषक र शोषित दुवैका चर्या उल्लेख भएका छन् । कविको भाव गरीब र किसान,मजदूर वा निम्न वर्गका जनतामा पक्षमा सशक्त भएर एकोहोरिएको छ । जनताको छोरो भनेको म पात्रका रूपमा तपाईं हामी सबै पिछडिएका ,शोषित ,पीडित हुन्,कवि स्वयंलाई बुझे पनि हुन्छ ।
३. " माधुरी मोहन "
लोकलयका जम्मा ११७ श्लोक भएको" माधुरी मोहन " खण्डकाव्य अन्तरजातीय विवाहप्रति सकारात्मक सोच भएको र विधवाको पुनर्विवाह आफ्नै सासूससुराले गराइदिएको कथावस्तुभरिको सुललित काव्य हो । नवचेतना र प्रगतिशीलता यसको उद्देश्य हो ।
४."अभिनन्दन "
"अभिनन्दन " उपजाति छन्द मा रचिएको १२३ श्लोकको खण्डकाव्य । यसमा देश र रमाजको विकृत अवस्था,कवि र कविताको अवमूल्यन ,नक्कलीपना हावी भएको,मरीमरी काम गर्नेहरू नै भोकै पर्नुपर्ने,देश भित्रभित्रै खोक्रो भएको ,रिनमा डुबेको,पछि देश बेचिन सक्छ,देशलाई बिन्बाट जोगाउनुपर्छ,सबैले मरेर जानुपर्ने हो अतःसत्कर्म गरौं,निष्क्रिय नबसौं भन्ने सन्देश र विविध विचारतरङ्गहरू यो खण्डकाव्यमा छन् ।
५." देवदूत "
यो लोकलयमा रचित खण्डकाव्य हो । यसमा ५/५ हरफ र एक स्थायी पद भएका जम्मा १११ पद्यपुञ्ज छन्,१५ शीर्षक छन् तर शीर्षकहरू पूर्वापर प्रसङ्गसम्बद्ध छन् । यो कविको आफ्नो अन्तरको द्वैध कल्पना पनि हो ,चन्द्रमणि आफैंले देखेको एउटा सुन्दर सपना पनि हो । कथानकको सार दिने वा रमाइलो निष्कर्षमा काव्यको अवसान दिने माध्यम पात्र हो ।
सामाजिक ,राजनीतिक शोषण,विकृतिका विरोधी कविका आफ्ना भोगाइहरूमा पनि यिनै शोषण अन्यायका कुरा छन् । कवि मूल रूपमा एउटा शोषणरहित, आर्थिक समतायुक्त समाजको कल्पनाकार हुन् त्यसैले विद्यमान समाजमा रहेका सरकारी,प्रशासनिक अन्यायलाई देखेर चूप लाग्न सक्तैनन् । झोडावासीलाई सरकारले गरेको अन्यायका विरुद्ध आवाज उठाउँदा उल्टै जेल पर्नुपरेको घटनाले जन्माएको विचारशृङ्खला नै काव्य भएको छ । जीवनकालमा अनेक हिसाबले कविगण सताइन्छन् तर मरेपछि उनैले सम्मान पाउँछन्,यो आडम्बरीपनलाई छोडेर जीवितमै कविलाई सम्मान दिनुपर्छ भन्ने विचारमा यो काव्य केन्द्रित छ ।
६.प्रकृतिपुत्री-
२१ खण्ड जसलाई कविले पुष्प भन्नुभएको छ,ती २१ पुष्पमा शार्दूलविक्रीडित छन्दका जम्माजम्मी २०४श्लोक भएको खण्डकाव्य हो प्रकृतिपुत्री । यसको मूल रस शृङ्गार हो । संयोग शृङ्गार धेरैजसो ,यदाकदा विप्रलम्भको र शान्त रसमा पनि बगेको छ। यो कविको स्वैरकल्पना हो । झीनो कथानकलाई जोडेर स्वान्तनिसृत प्रेमभावलाई कुनै युवतीलाई सम्बोधन गरेको शैलीमा नै काव्य आद्योपान्त हुन्छ । नारीका छोरी बुहारी र आमास्वरूप,किशोरी,युवती र वृद्धास्वरूप र आद्या मातृशक्तिको रूप,अहिले पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको देखाउँदै नारीजातिलाई सम्मानको दृष्टिले हेर्नू,व्यवहार गर्नुपर्छ भन्ने आशयमा यो काव्य रहेको छ । यहाँ युवतीलाई सम्बोधनमा प्रयोग गरेका अनेक उपमा,विशेषण शब्दहरूले कविको शब्द भण्डार विलक्षण रहेको देखिन्छ ।
७. आत्मविरेचन- यो खण्डकाव्य शार्दूलविक्रीडित छन्दका १९७ र समापनका २ श्लोक अन्य छन्दका भएर जम्मा १९९ पद्यमा रचित छ। यसमा कविको आत्मबोध छर्लङ्ग भएर आएको छ । हामीले यतिञ्जेल चिनील्याएका महाकवि सोमराज अभय विकृति विसङ्गति,शोषण,राज्यआतङ्क,नक्कली राजनीतिक दलहरू आदिका विपक्षमा दृढतासाथ लागिपरेका ,सचेतनाका सम्वाहक,सुन्दर समवर्गीय समाजका कल्पनाकार देखेका हौं र कविका यी भाव नै अबका पनि शाश्वत भाव हुन् तर महार्चन महाकाव्य लेख्ताखेरि आराध्य शिव मूलधार भए पनि अन्यान्य प्रसङ्गमा विचारप्रवाहित भएर शिवभक्तिमा मात्रै भाव केन्द्रित गर्ने क्रममा पनि आफैंले शिवतत्व बोध नगरी अरूले गरेको बोधलाई अभिव्यक्त गरेको महसूस गरेर आफैं आत्मविरेचन गर्नुभएको खुलासा छ । यसमा अत्युच्च शिवभक्तिभाव छ । यसमा कविको धाराप्रवाह लेखन र छन्दमा पकड पनि प्रशंसनीय छ। कथानकलाई जोड्ने आधारको रूपमा घरमा केही दिनका लागि सहयोगी भएर बसेका किराती सज्जनमा शिवको स्वरूप देख्नु र त्यसैलाई शिवतत्वको अन्तरबोधको कारक मािएको छ । यत्तिको शिवमहिमा नेपालीमा अर्को छ जस्तो मलाई लाग्दैन ।
८. "ढाँटको पुस्तक"- यो निबन्ध सङ्ग्रह हो । यसमा जम्मा १९ वटा- "ढाँटको पुस्तक,देशप्रेमको भावना,कवयिता र कविता,स्वाररक्षा,आफ्नै उपनाम सम्झिंदा,जीवनको रसमया,मेरो मानसिक आन्दोलन ,राक्षस र देवता,प्रियदर्शिनी मलाई माफ गर,टोपी,विकास कि विनास,हामी ,दुर्योधन र दु: शासन,उल्टो दर्शन,थप्पडको राजनीति ,मेरो वरूण यात्रा,स्वतन्त्र साहित्यबारे २/४ कुरा,सोमराज अभय आफ्नै दृष्टिमा र संसार विचित्रको छ " यति निबन्धहरू सङ्कलित छन् ।
निबन्धकारका स्वैरचिन्तनका ,निजात्मक निबन्धहरू छन् सबै । शीर्षक बमोजिमकै चिन्तनप्रवाह नभएर शीर्षकचाहिं चिन्तनको आधार देखिन्छन् । आडम्बरीपन,कथनी र करनीमा तालमेल नभएको ढाँटको पुस्तकको सार,राष्ट्रियता ,साहित्य ,आफ्नै उपनामको कथा, " अभय" हुनुको बीज, राक्षस र देवता खानपानबाट चिन्तनमा प्रभाव पर्ने कुरो, टोपीलाई हेला गर्दै लगिएको तथ्य,विकास भनेको तर विनाश पनि भैरहेको," हामी"ले भूपिको "हामी" कविताकै झल्को दिएको लाग्छ । दूर्योधन र दु: शासन महाभारतकालीन विद्रूप शासन व्यवस्थाको झलक, यस्तै यस्तै भावहरूमा सलल्ल बगेका विचारधारा । "प्रियदर्शिनी मलाई माफ गर" वस्तुत: वरुण क्याम्पसको विकासक्रमको कथा हो । आफैंले आफ्नै मूल्यांकन समेत गरेको निबन्ध पनि यसैमा छ ।
लेखकीय इमानदारी छ मुख्य पक्ष भनेको । जहाँ लेखकको द्रष्टा व्यक्तित्वले इमान छोड्दैन,कालजयी विचारहरू त्यहीं जम्मा हुन्छन् र कृतिको जीवन्तताको ग्यारेन्टी गर्छन् । सूक्ष्म चिन्तन भए पनि बोधगम्यतामा कुनै असजिलो वा क्लिष्टता छैन । यस्तै विशेषताहरूको निबन्ध सङ्ग्रह हो " ढाँटको पुस्तक" ।९."जीवन दर्पण"- यो कविको विविध रसभावतरङ्गित फुटकर कविताहरूको सङ्ग्रह हो । यसमा कविले जम्मा ९८ शीर्षकमा लयबद्ध कविताहरू राख्नुभएको छ । छन्दप्रयोगमा पनि विविधता छ । शार्दूलविक्रीडितमा मात्रै ३२ वटा कविता छन्। इन्द्रवज्रा उपेन्द्रवज्राको उपजातिमा ११ वटा,शिखरिणीमा र भुजङ्गप्रयातमा ८/८,मन्दाक्रान्ता र अनुष्टुप्मा ६/६,वसन्ततिलकामा ४,पृथ्वी र मालिनीमा ३/३,वंशस्थ र इन्द्रवंशाको उपजातिमा ५,इन्दिरा र रथोद्धतामा २/२,शालिनी र विधातामा १/१,मिश्रितमा४ र अन्य १ छन्दमा भएका जम्मा ९८ कवितामध्ये विधाता छन्दमा रचिएको मोतीराम भट्टप्रतिको श्रद्धाञ्जलि भावलाई गजल भन्नुभएको छ,वस्तुतः त्यो गजल हुन सकेको छैन,कविता नै भएको छ । केही शीर्षकका कवितामा बहुछन्द प्रयोग पनि गरिएको छ । " तँलाई मालुम् छ कि यो कुरा मन" बाट लेखनाथीय मार्गानुसारी शैली र वर्तमानलाई प्रेक्षणको भाव भएका कविताबाट शुरुगरेर गृहस्वामिनीको हात भाँचिएको प्रसङ्गसम्म पुगेर समापन भएका यो सङ्ग्रहका सबै कविताको मोटामोटी भावसार विशिष्ट अध्येेता,समालोचक आदरणीय दधिराम सुवेदीले भूमिका खण्डमा सङ्केत गर्नुभएको छ ,मैंले ता सर्सर्ती पढें है भन्ने सूचना मात्रै गरेको हुँ ।
उहाँका २ कृति "विद्रोही काले" महाकाव्य र " अनुगुञ्जन" कवितासङ्ग्रह मैंले पहिले नै पढेको हुँ । अहिले हात परेजति पढें । मजस्ताका कृति कल्ले पढ्छ र ? भन्ने गुनासो राख्नुभएको पनि यिनै कृतिहरूमा पाइयो ,यो वर्तमानको दोष हो । यत्तिका महाकविले यस्तो भन्नुपर्ने अवस्था छ भने मजस्तो साहित्मा बामे सर्दै मात्रै गरेकाले के भन्ने ?
तर यसो होइन भन्छु म । समयले पढाउँछ ,जस्तो मैंले हजुरका कृति लगभग २० वर्षपछि पढें र यति गन्थन गर्न पनि पाएँ ।
छन्द प्रयोगमा भन्दा भावसम्प्रेषणलाई महत्व दिनुहुने कवि मलाई छन्दका सवालमा आफ्नो अपरिष्कृत अवस्थामा नै मर्न दिनुहोस् म छन्दका लयलाई रोज्छु,व्याकरणविधानपटि होइन भन्नुहुन्छ र लेखन पनि सरित्प्रवाहवत् सलल बेरोकटोक बगेर गएको छ ।
अब मेरो गन्थन बिसाउनुअघि अनुज पुस्ताका लागि प्रेरक , अनुकरणीय , शालीन ,शान्त व्यक्तित्वका महाकवि सोमराज अभय र शारदा गुरुमा जो नवौं दशकको वयमा हुनुहुन्छ,दुवैको सुस्वास्थ्य,शान्त जीवनयापनको सादर शुभकामनाका साथ मेरो लेखनीलाई यहीं विश्राम दिन्छु ।
तेजस्वी नाsवधीतमस्तु ॐ ।
फाकफोकथुम-४,फुएतप्पा,इलाम