लोमस वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवमा कृति विमोचन
झापा २१ असोज /लोमश वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा कृष्ण ‘कोपिला’ कृत उसको अतीत र प्रतिष्ठानको पुस्तक बइँसेरी २ कृति लोकार्पण तथा स्रष्टा सम्मान समर्पण सम्पन्न गरेको छ ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. कुसुमाकर न्यौपाने लगायत मञ्चासीन अतिथिहरूले दीप प्रज्वलन गरी प्रतिष्ठानको वार्षिकोत्सव तथा लोकार्पण समारोहको समुद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, होटल व्यवसायी महासङ्घका अध्यक्ष टी.आर. भण्डारी र नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य-सचिव डा. धनप्रसाद सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
समारोहमा लोकप्रसाद ढकाल, चक्र दवाडी, समीर राई, रमेश रुपाखेती नरेन्द्र वज्राचार्य, नीलकण्ठ तिवारी, केशव नेपाल, जगन्नाथ खतिवडा र डी.पी. ढकाल लगायतका विद्वान् तथा वक्ताहरूले लेखक कुसुम कोइरालाको लेखनशैली, कृतिमा समेटिएका अनुभूति र योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लेखक कृष्ण ‘कोपिला’ ले आफ्नो साहित्यिक यात्रा र कृति सिर्जनाका भोगाइहरू प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमका सम्मानित व्यक्तित्व युवराज इटनीका बारेमा जयराम बिडारीले प्रकाश पारेका थिए । डा. सावित्री श्रेष्ठको धारणाले कार्यक्रममा थप रौनकता ल्याएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व युवराज इटनीले लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफू सगरमाथाको शिखर चढेको जस्तो गौरव गरेको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।