'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका थिरुप्रसाद नेपाललाई
झापा २० माघ/तेस्रो 'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका वरिष्ठ आख्यानकार थिरुप्रसाद नेपाललाई प्रदान गरिने भएको छ।
नेपाली साहित्यका प्रख्यात आख्यानकार,भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मानित असमका लीलबहादुर क्षेत्रीको नाउँमा स्थापित 'लीलबहादुर क्षेत्री फाउन्डेसन'ले विगत तीन वर्षदेखि 'लीलबहादुर क्षेत्री पुरस्कार' नाउँको एक पुरस्कार प्रदान गर्दै आएको छ।
नेपाली आख्यान साहित्यमा विशिष्ट योगदान पुर्याउने आख्यानकार अथवा कुनै उत्कृष्ट कृतिलाई यो पुरस्कारले सम्मानित गरेको देखिन्छ। सन् २०२४ देखि थालिएको यो पुरस्कार थाप्ने पहिलो आख्यानकार थिए 'रिमाननी घाटका कथाकार'का रूपमे चिनिने तेजपुर असमका कथाकार खड्गबहादुर कौशिक। दोस्रो वर्ष सन् २०२५ मा डुवर्सेली कवि तथा कथाकार अबीर खालिङलाई यस पुरस्कारले सम्मानित गरिएको थियो। सन् २०२६ को यो पुरस्कारका लागि सिक्किम नाम्चीका वरिष्ठ कथाकार थिरूप्रसाद नेपाललाई चयन गरिएको कुरा सोमबार 'लीलबहादुर क्षेत्री फाउन्डेसन'का अध्यक्ष डा. कमल छेत्रीले घोषणा गरेका छन्।
यस पुरस्कारको लागि हरेक साल तिनजना जुरीको चयन गरिने गर्दछ र जुरीको निर्णयअनुसार पुरस्कार घोषणा गरिने गरिन्छ। यस पुरस्कारमा नगद राशी, अङ्गवस्त्र र मानपत्रले सम्मान गरिनेछ।
पुरस्कृत कथाकार नेपालको जन्म ११ मे १९५७ मा सिक्किमको नाम्चीमा भएको हो। नेपालले अहिलेसम्म नेपाली साहित्यलाई आठवटा नेपाली कथा सङ्ग्रह र दुइटा कविता सङ्ग्रह उपहार दिएका छन्। उनको एउटा हिन्दी कथा सङ्ग्रह पनि प्रकाशित भएको छ भने उनका केही कथा अङ्ग्रेजी, राजस्थानी,हिन्दी,बङ्गला आदि भाषामा अनूदित भएको जानकारी साहित्यकार रुद्र बरालले दिएका छन्।
नेपालका प्रकाशित कथा सङ्ग्रह
१. उकाली ओहाली -१९९५,
२. .अर्को देशको मान्छे -२०००,
३.नमिलेका अक्षरहरू-२००९,
४. सम्भावना उज्यालोको -२०१२,
५. सौन्दर्य विकृतिहरुको -२०१४,
६.कथा कतिपय मेरा -२०१९.
७. एक आँगन घाम -२०२१,
८. श्रवणकुमारको देशमा -२०२५
९. काले बेग में स्थगित गाँव ( हिन्दी कथा सँगालो, २०२३)
कविता सङ्ग्रह :
१.मनको आकाशमा सुनका चरीहरू-२००३
२. तिमीसित एउटा रुमाल छ ?- २०२३