लेखनाथ जयन्तीमा खुल्ला कविता प्रतियोगिता र स्रष्टा सम्मान
झापा ५माघ १४२औं लेखनाथ जयन्तीको अवसरमा सोमबार खुल्ला कविता प्रतियोगिता र स्रष्टा सम्मान गरिएको छ।
धरान-१धुलिखेल समाजको भवनमा प्रसिद्ध समालोचक प्राडा.गोविन्दराज
भट्टराईको प्रमुख आतिथ्य, धरान उपमहानगरका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाको विशेष आतिथ्य तथा पोखरानिवासी कवि तथा साहित्यकार शिवशङ्कल्पको विशिष्ट आतिथ्यमा स्रष्टासम्मान एवम् राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता सम्पन्न गरिएको हो।कविशिरोमणि साहित्य साधना समाज धरानको आयोजनामा दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा इलाम जिल्लालाई कर्मभूमि बनाई छन्दमा साधना गरिरहनु भएका प्रसिद्ध कवि खोलाघरे साहिँलो (गङ्गाप्रसाद अधिकारी)लाई प्रा.टीकाप्रसाद शर्मा वस्ती स्मृतिपुरस्कार तथा मोरङ जिल्लामा रहेर विगत ४४ वर्षदेखि कविता, रङ्गमञ्च र अभिनय क्षेत्रमा योगदान दिइरहेका झोराहाटका साहित्यकार भरत बर्बरिकलाई पुरस्कृत तथा सम्मानित गरिएको हो।दुवै जना साहित्यकारलाई पुरस्कार संस्थापकहरूले नगद रु १० हजार, सम्मानपत्र र दोसल्लाबाट सम्मानित गर्नुभयो।

उत्तर आधुनिकता र डायस्पोरा लगायतका विषयहरुमा काठमाडौंमा रहेर समालोचनात्मक कृतिहरू प्रकाशन गरिरहेका प्रसिद्ध समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले बोल्दै कविशिरोमणि लेखनाथ पौडेलले नेपाली समाजलाई दिएका रचनाहरू अमूल्य रहेका र तीमध्ये कति अझसम्म पनि प्रकाशित हुन बाँकी रहेका सन्दर्भमा टीकाप्रसाद शर्मा वस्तीका सुपुत्र सनतकुमार वस्तीको सम्पादकत्व एवम् नेपालयको प्रकाशकत्वमा हालै ५ भागमा ‘लेखनाथ-रचनावली’ प्रकाशन गरिनु महत्त्वपूर्ण उपलब्धि भएको कुरा बताए ।
विशेष अतिथि बेघाले आगामी दिनमा भाषा,साहित्य,कला र संस्कृति क्षेत्रलाई अझ संरक्षण र प्रवर्द्धनमा महत्त्व दिने कुरा बताए।
कार्यक्रममा विराटनगर, इनरुवा, दमक लगायतका क्षेत्रका थुप्रै कवि प्रसिद्ध कवि र गजलकारहरुले पनि आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा धरानका साहित्यकारहरू, प्राज्ञिक व्यक्तित्वहरू,प्राचार्यहरू,
शिक्षक,बुद्धिजीवीहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।