लोकप्रिय गीतकार लोकराजलाई राष्ट्रिय धरोहर विशिष्ट सर्जक सम्मान
झापा १९ पुस/लोकप्रिय गीतकार लोकराज अधिकारी शुक्रबार अभिनन्दित भएका छन् ।
१३औ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पर्यटन बोर्डमा आयोजना गरेको विशेष कार्यक्रममा गीतकार अधिकारीलाई राष्ट्रिय धरोहर विशिष्ट सर्जक सम्मान २०८२ बाट अभिनन्दन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भवानी राणा र आयोजक संस्थाका संरक्षक राजानन्द माण्डव्यले संयुक्तरुपमा दोसल्ला र अभिनन्दन पत्रले सम्मान गरेका हुन् ।
नेपाली गीति लेखनको क्षेत्रमा लोकगीत ,दोहोरी गीत, आधुनिक गीत, बाल गीत, गजल, चलचित्रका गीत र राष्ट्रिय गीत गरी १६० भन्दा बढी गीत लेखेर राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउन योगदान दिएको भन्दै कदर स्वरूप गीतकार अधिकारीलाई अभिनन्दन गरिएको आयोजकले जनाएको छ ।
उनका दर्जनौँ गीत दर्शक श्रोतामाझ लोकप्रिय छन् । गीतकार अधिकारी अमेरिकाको एटलान्टामा अन्तर्राष्ट्रिय सिङगर्स सङग राइटर एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय अवार्डको दुई वटा शृङ्खलामा लगातार मनोनयनमा परेका एक मात्र नेपाली गीतकार पनि हुन् ।