लघुकथा- कुतेका चारा
कुकुर तालिम केन्द्र लेखिएको ठूलो भवन।विशाल चाैर।सयौं कुकुरहरू । विभिन्न आकृतिका कुकुरहरू । लकुनै छुँदै फाेहाेर लाग्ने । कुनैकुनै हिलाेबाट भर्खर निस्केका,आवारा कुकुरहरू । भवन भित्रवाट ठूलो भुँडी भएको मानव निस्कन्छ । त्याे मानवलाई देख्ने बितिक्कै सबै कुकुर लामबद्द भए ।
"तिमीहरू सबै ख्वामित प्रति बफादार छाै?" मानव गर्जीयाे ।
सबै कुकुरले सहमतिमा टाउको हल्लाए ।
"ख्वामितकाे अघि के गर्छौं ?"
सबै कुकुर उठेर भुक्न थाले।
"तिमीहरूको सहमतिमा नङ्ग र दारा निकालिएको छ । अब तिमीहरूको पुच्छर समेत काट्नु पर्नेछ । मन्जुर छाै?"
सहमतिमा सयौं पुच्छर हल्लिए ।
" दयाल?" मानव गर्जीयाे । दयाल बाहिर आयाे । मानवको अघि निगुरमुन्टी "न" भएर उभियाे ।
"ल! सबै कुकुरको पुच्छर काटेर कुतेका चारा दिनु।"
सहमतिमा दयालकाे टाउको हल्लियाे ।
मानव भवन भित्र पस्याे ।
भित्र ठूलाे हल।हलकाे बिचमा सिंहासन जस्तो कुर्सी । मानव कुर्सीमा बस्याे । अचानक मानवले आफूलाई असहज महसूस गर्याे ।मानवको शरीरमा भुत्ला, हातमा नङ्ग्रा, पछाडि पुच्छर बढेर आयाे । हेर्दाहेर्दै मानव कुकुर मा परिणत भयाे ।
"टामी" पल्लो काेठाबाट ठूलो आवाज आउँछ । कुकुर रुपी मानव चार खुट्टा टेक्दै,पुच्छर हल्लाउँदै ,आवाज आएकाे दिशा तर्फ लम्कन्छ ।
" दयाल?" ठूलो आवाज गर्जियाे।
दयाल दगुर्दै भित्र पस्याे ।
" दयाल! टामीकाे दारा नङ्ग्रा निकालेर, पुच्छर काटे पछि टामीलाई " कुतेका चारा" दिनु ।" ठूलो आवाज बाहिर सम्म सुनियाे।