प्रा.डा. गङ्गाप्रसाद अधिकारीको लघुकथा- बलात्कारी

प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी · मंसिर २, २०८१ ७:४६ AM
Cover Image for News

“दाइ, एकछिन पर्खनु न ! मलाई एक्लै डर लाग्छ क्या !” 

उसले डराएझैं गरेर भनी । वातावरण पनि साँच्चै त्यस्तै । बानेश्वरबाट शङ्खमूलतिर जाने ओरालो,  लोडसेडिङ भएकाले बिजुली थिएन । अन्धकार रात । केटीको आग्रहलाई उसले नाइँ भन्न सकेन । एकछिन पख्र्यो । केटी ऊसँगै आइपुगी । 

“केटी त लबस्तरी पो रहिछे कि क्याहो ?” केटी ऊसँग टाँस्सिनै खोज्ने र वेला वेला आफ्ना संवेदनशील अङ्गहरूले उसलाई हिर्काउने गर्न थालेकीले उसले यस्तो मनमनै सोच्यो । केटीले उसलाई धक्याउँदा धक्याउँदै बिस्तारै उसको कटी प्रदेशतिर सुम्सुम्याउन पो थाली । नातिनातिना समेत भइसकेको, समाजमा इज्जतिलोमा गनिएको ऊ । केटीको चालमाल देखेर ऊ उसबाट अलग्गिने चेस्टा गर्न थाल्यो ।

“छोड, यो के गरेको ?” उसले केटीका हात आफ्नो पाइन्टका खल्तीबाट हटाउँदै भन्यो । 

“त्यसो भए खल्तीमा भएको पैसा मलाई दिनु न त !” उसले लाडिएजस्तो गरेर भनी । 

“के को पैसा ? छैन पैसा सैसा !” उसले हप्काएको भावमा भन्यो । भन्दा भन्दै केटीले केही रकम त उसको खल्तीबाट झिक्न पनि भ्याइहाली । अनि त अचानक केटी चिच्याई “गुहार गुहार ! मलाई यो मान्छेले अँध्यारामा एक्लै देखेर हातपात ग¥यो !”

उसका वाक्य भुइँमा झर्नै नपाइ छेउछाउका घरबाट १५–२० जना लाठेहरू बाहिर आए र उसलाई भाक्क भुक्क हान्न थालिहाले । केटी सुँक सुँक गर्दै रोएको अभिनय गर्न थाली । 

मानिसका लात र मुड्कीले ऊ चोटग्रस्त भयो, रगतपच्छे भयो । उसले कैयौं पटक आफू निर्दोष भएको बताउन प्रयास ग¥यो तर उसको कुरा कसैले सुन्न चाहेन । सबैले उसलाई बलात्कारी नै हो भने । एउटाले प्रहरीलाई फोन गरेर बोलायो र उसलाई प्रहरीको जिम्मा लगाएपछि घटना साम्य भयो ।

उसको कुराको सुनवाई कतैबाट भएन । बिचरो निर्दोष मान्छे बलात्कारी साबित भयो र जेल प¥यो । 

अदालतमा मुद्दा विचाराधीन नै छ । ऊ जेल परेको पनि चारपाँच वर्ष बितिसक्यो । वकिलहरूले न्यायाधीशलाई भनेर मुद्दा मिलाइदिने वचन दिँदै उसका परिवारसँग मोटै रकम कुम्ल्याइसके तर मुद्दा जस्ताको तस्तै । 

“मानिसलाई फँसाएर ब्लाकमेलिङ गर्ने एउटी केटी पक्राउ” भन्ने खबर आयो । केटी उही थिई । उसले कैयौंलाई मोटो रकम हत्याएर छोडेकी थिई, नदिनेलाई उसरी नै नाटक गरेर बलात्कार गरेको अभियोग लगाएर फँसाएकी थिई । अन्ततः उसले साबिती बयान दिई । उसलाई फँसाएको पनि स्विकारी । केटीले गलत कामको सजाय पाई । जेलमा पाँच वर्ष कोचेपछि अदालतले पनि सफाइ दिँदै उसलाई जेलमुक्त गर्ने आदेश पठायो । जेलभित्र पनि खबर पुग्यो तर ऊ न खुसी नै देखियो न त उत्साहित नै । 

जेलमुक्त हुने दिन बिहानै उसका शुभेच्छु, परिवारका सदस्यहरू लगायत निकै जना फूलमाला, अबिर सहित उसलाई लिन जेलबाहिर पुगे । जेलरले उसलाई थुनाबाट बाहिर ल्याउन प्रहरीलाई अह्रायो । प्रहरीले उसलाई थुनेको कक्ष खोल्नासाथ अत्तालिँदै जेलरलाई बोलायो । 

उसको हातमा एउटा सानो चिर्कटो थियो । भित्तामा रगत लत्पतिएको थियो । उसको निष्प्राण शरीर भुइँमा ढलिरहेको थियो । चिर्कटोमा यस्तो लेखिएको थियो:

जेलमुक्त भएको सुनेपछि मलाई खुल्ला समाजमा बाँच्नै मन लागेन । मेरो प्रतिष्ठित र अवकाशमा जानै लागेको जागिर त्यसै सकियो । मेरो जीवनभर मेहनत र इमान्दारितासाथ कमाएको मान, मर्यादा र प्रतिष्ठा सबै धुलिसात् भए । सबै सपना चकनाचूर भए । मेरो कारण मेरा परिवारले पनि समाजमा ठाडो शिर गरेर बाँच्न पाएनन् । म अब निर्दोष सावित भए पनि कुन मुख देखाउन जाऊँ मेरो परिवारलाई, समाजलाई । सबै कुरा सकिएपछि अब म रहनुको के अर्थ र ? त्यसैले मैले यहीँबाट सबैसँग बिदा लिने निर्णय गरेँ । 

 २०८१।६।७

गंगाप्रसाद अधिकारी

निजी निवास, भद्रपुर ८

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
chhatra mani
३ हप्ता अगाडि

सत्य घटनामा आधारित कथा।

जीवनाथ सुवेदी
३ हप्ता अगाडि

आत्महत्या नगाउनुपर्थ्याे कि ? जस्तो लाग्यो । फँस्ने र फँसाउने घटना धेरै सुनिन्छ । त्यस्तो सम्भावनाप्रति हाेसियार हुने सन्देश ।

जीवनाथ सुवेदी
३ हप्ता अगाडि

आत्महत्या नगाउनुपर्थ्याे कि ? जस्तो लाग्यो ।

लक्ष्मण अधिकारी
३ हप्ता अगाडि

सुन्दर कथा।

सम्बन्धित पोस्टहरू
भन्न देऊ न त !
भन्न देऊ न त !
धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी - सोमबार ७ अक्टोबर २०२४
एडिक्ट
एडिक्ट
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार २१ सेप्टेम्बर २०२४
क्रान्ति
क्रान्ति
खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४
भरिया
भरिया
बालकृष्ण गजुरेल /साहित्यमा स्माइल - बिहिबार १३ जुन २०२४