भन्न देऊ न त !
बिहानै,अरुणको दर्शन गरी,हिमाल हेरेर मुस्कुराइन् उनी,अति गुनी। वागीशदेवी सन्तोषी,उनको नाम। समयले उनलाई पनि पन्चायतजस्तै जस्तै बनाएको छ। सरल र सज्जन,सरस्वतीनगरमा,उनी। " भाइ किन आएन?" आफ्नो जीवनसाथीको शागिर्द,मित्र,सबैथोक,एक योगी,अलि भौजाहा टाइपको,छताछुल्ल र छरपस्ट लेख्ने रामानुज," प्रोफेसर अजेयनारायण अक्षराश्री दीपेश्वर महादेव" ऊ,आएन। " सम्झेर बस्ने उनी। भाइ आए रमाइलो गर्छ। उसकै कारणले धेरै कुराको विकाश भएको छ,गाउँमा ।
बिहानै,चिया लिएर पुगिन् शयनकक्षमा, साधुराम सरलोपाध्याय प्लेटो एउटा किताब पढ्दै," ॐ पुरीको जीवनी!" गिरीपुरी,उनको चोइस। " आर्यपुत्र .... " प्रवचन सुरु,उनको। भीमसेन थापादेखि कमल थापासम्मको कथा भनिन् र बजारमा धोबीहरूले कसरी आफ्नो प्यारो मान्छेको बारेमा सौन्दर्य मीमांसा गरेका छन् -- त्यो कायाकैरन पनि अक्षरश: सुनाइन्। सम्प्रेषण भयो अनर्गर्ल प्रलाप। सिरक पन्छाए।आङ्ग तन्काए।एउटा चुरोट सल्काए। भूगोल र इतिहास सम्झिए।नाथ सम्प्रदाय आयो मगजमा। पत्नीको बिन्तीपत्रे अनुहार पढे,मसिनो स्वरमा," भन्न देऊ न त,भनेर के हुन्छ?लेखकको सालिक बन्छ,समालोचकको बन्दैन। दुई दिनमा बनेको साधुराम हो र? सर्वसमाप्तिपछि पनि भविष्य बाँकी रहन्छ क्या!भन्न देऊ,भन्न देऊ! केही नगर्नेले गर्ने काम नै त्यही हो। कमसेकम तिमी मीठो बोल,उज्यालो अनुहार बनाऊ,अब यो विम्व हेर्न मिल्छ,फेर्न मिल्दैन क्यारे! प्यारी,पूजा गर,म रामतिलक लगाएर निस्किन्छु,आज प्रमुख अतिथि हुनु छ। यी खुजुरे कुराहरू लिएर नआऊ। हाइकु होइन म, म त उपन्यास, भरिपूर्ण गगन! चिन्ता नगर्नू,हरेक समस्याको निदान छ,हुन्छ। बोल्न नपर्ने कुरा नबोल,हरेस नखाऊ। मेरो जीवनको केन्द्र तिमी,परिधि म! जीवा हो तिम्रो भाइ,आएन? व्यास पनि उही हो। अर्धव्यास पनि। यस्तौ हो प्यारी जीवनकथा,को आनन्दमा छ र? शरीर हेर!सबैको हालत उही हो। " " हजुरको यही शीतल स्वभावले मन शान्त हुन्छ। ल ल चिया चिसो होला!" उज्यालो अनुहार बनाएर उनी बाहिरिइन्। साधुराम पनि मुस्कुराए।
धनराज गिरी