खरानीको आत्मकथा !

कवि डाक्टर नवराज लम्साल · कार्तिक २४, २०८२ ७:३७ PM
Cover Image for News

कविता 
 
खरानीको आत्मकथा ! 

डा. नवराज लम्साल
 ....
 म खरानी हुँ
 साँच्चै खरानी हुँ 
 तर खरानीको आकृतिमा म जो छु
 म खरानी मात्रै होइन ! 

म सुदूरका कार्यकर्ताले तिरेको रसिद हुँ
 पार्टीको झण्डा 
 र चुनाव चिन्ह सिलाउँदाको आर्थिक अंश हुँ
 केन्द्रीय कार्यालयको भित्ताको रङ हुँ
 फर्निचर हुँ
 शहीदको फोटो
 र शहीद दिवसमा किनेको मालाको अंश हुँ
 परिवर्तनको आन्दोलनमा 
 कार्यकर्ताको मुखबाट खोसिएको गाँस हुँ 
 तमाम जनताको विश्वास 
 र बलिदानीको सपना हुँ
 भन कसरी म खरानी मात्रै हुँ ? 

जसलाई तिमी 
 केवल खरानी भनिरहेछौ,
 त्यो थुप्रोमा अलिकति नीति छ
 अलिकति नियुक्ति छ 
 अलिकति व्यापारको बदलाव छ
 अलिकति कडा कमिसन छ 
 अलिकति हाक्काहाक्कीको लेनदेन छ 
 सुत्केरी श्रीमती स्याहार्न
 घरपायक सरुवा माग्ने
 कार्यालय सहयोगीको आँसु छ
 कार्यालय कार्यालयको गाडी,पेट्रोल र  पैसा छ 
 कार्यालय प्रमुखको छाया छ 
 सरुवाको सुविधा छ 
 सञ्चयको शुभलाभ छ
 भन कसरी म खरानी मात्रै हुँ ! 

यो चाङमा के छैन ?
 सांसद हुनेको सपना छ
 राजदूतको कोसेली छ
 मन्त्रीको भरपाइ छ
 योजनाहरूकै आयोजना छ 
 निकासाको नियमन छ 
 बीचकाहरूको व्यस्तता छ
 बिचौलियाहरूको बेचबिखन छ 
 सबै सबैको 
 सन्तुलन, संयम र लुकामारी छ
 भन कसरी म खरानी मात्र हुँ । 

आफ्नै पुजारी पठाएर
 मन्दिरबाट आएको दक्षिणा छ 
 जङ्गल सफा गरेर आएको अक्सिजन छ 
 खोला थुनेर आएको पानी छ 
 अलिकति ढुङ्गा छ 
 अलिकति बगर छ 
 केही एयरपोर्ट छ, केही आकाश छ 
 यसरी संसार अटेको यो थुप्रो 
 भन कसरी खरानी मात्रै हुनसक्छ ! 

रुँदै देश छोडेका 
 डाक्टरहरूको सेतो कोट छ 
 इन्जिनियरहरूको स्केल, पेन्सिल र कटर  छ 
 कलाकारहरूको कला छ 
 लेखकहरूको कलम छ 
 देशको आत्मसम्मान, स्वाभिमान छ 
 म आफैले कब्जा गरेको 
 मेरो पार्टी, मेरा कार्यकर्ता 
 पुराना नेताहरूको इतिहास छ 
 युवाहरूको सम्पूर्ण सपना र भविष्य छ
 सबैलाई जिउँदै जलाएर 
 जम्मा गरेको यो विरासत 
 भन कसरी खरानी मात्रै हुनसक्छ ? 

आज म खरानी हुँ 
 तर खरानी मात्रै होइन 
 अब मलाई छुट्याइदेऊ -
 देश बेचेको खरानी 
 र सपना बेचेको खरानी ! 

आज मलाई पनि 
 यही थुप्रो छेउमा उभिएर हेर्न मन छ :
 देश बेच्नेहरूको अवसानको खरानी !!
 .....

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५