कवि दीपक चौलागाईंको ‘हतारमा छन् यात्रीहरु’ कविता कृतिको लोकार्पण
झापा २७माघ/कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण गरिएको छ ।
राजधानीमा सुनकोसी वाङमय प्रतिष्ठानद्वारा मङ्गलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निवन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी, प्रदीप सापकोटा र लेखक चौलागाईंले गरे ।
कार्यक्रममा प्राज्ञ मुकारुङले प्रमुख अतिथिको मन्तव्य राख्दै कविताबारे चर्चा गर्दै भने, ‘हाम्रा सिर्जना भनेको कहिल्यै पूर्ण नहुने चिज हो । यो सगरमाथा आरोहण गरेपछि पूर्ण भइजाने एउटा यात्रा हैन । यो यस्तो यात्रा हो कि आफैंले निर्माण गरेको यात्रालाई जीवन रहेसम्म श्रष्टा आफैले नाघ्दै नाघ्दै नयाँ–नयाँ पर्वत चढिरहने हो ।’
कृतिमाथि समिक्षात्मक मन्तव्य राख्दै कवि मणि लोहनीले चौलागाईँका अनुभवले खारिएका कविता नेपाली पाठकले पाएको बताए । वर्तमान समयको साक्षी बोल्ने कवितामा मृत्युचेतबारे निकै मिठा बिम्बहरू संगालिएको पनि उल्लेख गरे । उनले भने, ‘एउटा अनुभवी कविको नयाँ तर शक्तिशाली कवितासङ्ग्रह हो – हतारमा छन् यात्रीहरू।विज्ञान र जीवनलाई जोडेर लेखिएका यसभित्रका कविताहरूले आम नेपालीको संवेदनालाई प्रष्ट्याएको छ ।’
कवितामाथि टिप्पणी गर्दै कवि शकुन्तला जोशीले "पूर्वीय वैदिक दर्शन, द्वन्द्वात्मक भौतिकवादी दर्शनचेत हुँदै भौतिक विज्ञानको खासगरी क्वान्टम सिद्धान्त जस्तो सूक्ष्म विज्ञानको गहिरो र दुर्लभ बुझाइको सरल प्रयोग भएको बताइन् ।
कार्यक्रममा कवि डा.अनन्त अधिकारी र रुपा रिसालले लोकार्पित सङ्ग्रहबाट कविता वाचन गरेका थिए ।
कविका गुरु पूर्व क्याम्पस प्रमुख चूडाप्रसाद चौलागाई, राधेश्याम लेकाली, प्रमोद प्रधान,शंकर भारती,पवन आलोक, वसन्तराज अज्ञात,लक्ष्मी रुम्बा,तुलसीहरि कोइराला लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदीप सापकोटा र स्वागत पूर्णबहादुर श्रेष्ठले गरेका थिए ।