कवि अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रहको सार्वजनिक
झापा ४ फागुन /कवि अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रहको शनिबार काठमाडौैं सर्वनाम थिएटरमा विमोचन भएको छ ।
कविहरू श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षक गुरुङ सुशान्त र लेखक विष्टले किताब संयुक्त रूपमा विमोचन गरेका हुन् ।
‘ब्ल्याकहोलमा गीतहरू’ काव्यिक संरचनाका दृष्टिमा अब्बल भएको र किताबले समकालीन कविताको महत्ता स्थापित गर्ने कवि मुकारुङले बताए ।
कार्यक्रममा समीक्षक गुरुङ सुशान्तले विष्टका कवितामा प्रेम,नारी संवेदना,आदिवासी सौन्दर्यका मुद्दा र सामाजिक विषयका प्रतिरोधी आवाज मुखर ढंगले प्रस्तुत भएको विचार व्यक्त गरे।
कवि विमला तुम्खेवाले ‘ब्ल्याकहोलमा गीतहरू’ का कविता समकालीन परिदृश्यका तीखा स्वर भएको बताइन् ।
अङ्ग्रेजी विषयमा विद्यावारिधि गरी प्राध्यापन तथा लेखनमा क्रियाशील अस्मिता विष्ट नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा साहित्यको सिर्जना र समीक्षा गर्ने स्रष्टा तथा द्रष्टाचेत भएकी प्रतिभा हुन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापनरत कवि अस्मिता विष्टले आफ्नो कविताका भावभूमि जीवन अनुभव, अध्ययन र अवलोकनबाट सिर्जित भएको बताइन् । ‘यी कविताप्रति पाठकले दर्शाएको सद्भावबाट म असाध्यै उत्साहित छु,’ विष्टले भनिन् ।इन्डिगो इन्कले प्रकाशन गरेको ‘ब्ल्याकहोलमा गीतहरू’ को मूल्य ३४९ रुपैयाँ रहेको छ