काठमाडौंमा नइ प्राध्यापक सम्मेलन सम्पन्न, प्राज्ञहरू सम्मानित
झापा १ बैशाख /नइ एकेडेमीद्वारा काठमाडौँमा आयोजित तीन दिने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ सम्पन्न भएको छ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंले समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’ बाट विभूषित गरे।
यस अवसरमा समालोचक प्रा.डा. त्रिपाठीले नेपाल र भारतका २६ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’ बाट विभूषित गरे।
नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक सम्वर्द्धनका साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत योगदान दिएबापत उनीहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरिएको हो। यी सबै पुरस्कारको राशि जनही ५० हजार रहेको छ।
समारोहमा त्रिपाठीले डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईंलाई जनही पच्चिस–पच्चिस हजार राशिको नइ कपिल प्रज्ञा पुरस्कार प्रदान गरेका थिए।साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिका लागि अहोरात्र समर्पित भई ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थका साथै अन्य विविध सामग्रीहरूको प्रेस सम्पादन कार्यमा अविस्मरणीय योगदान पुर्याएबापत आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही दश–दश हजार राशिसहित ‘नइ सेवा पुरस्कार’ प्रदान गरिएको छ।
नइ एकेडेमीका कुलपति प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलगायत नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका २४ जना प्रतिनिधि प्राध्यापक र सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले सम्मेलका उपलब्धिका बारेमा प्रकाश पारेका थिए।