काठमाडौंमा ‘मञ्जुल’ लाई ‘विश्व ज्योति साहित्य सम्मान -२०८२’ प्रदान

दिलिप घिमिरे · चैत २५, २०८२ ११:५७ PM
Cover Image for News

झापा २५ चैत्र /एपेक नेपालले साहित्यकार,गायक एवम् संस्कृतिकर्मी मेघराज नेपाल ‘मञ्जुल’ लाई यस वर्षको ‘विश्व ज्योति साहित्य सम्मान’ प्रदान गरेको छ।

मञ्जुललाई काठमाडौँमा आयोजित ‘एपेक नेपाल’को २७औँ वार्षिकोत्सवकाे अवसरमा नगद ५१ हजार रुपैयाँसहित सम्मान पत्रले बुधबार सम्मान गरिएको रहेको हो।

यो सम्मानको पहिलो वर्ष गतसाल कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो।
 कविता तथा गीत लेखनमा सक्रिय मञ्जुलको जन्म २००३ साल फागुनमा भोजपुरमा भएको हो। उनी २०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनमार्फत साहित्यिक यात्रा सुरु गरेका थिए। समाजका विसंगति र बेथितिका विरुद्ध उनी विद्रोह गर्दै केही साथीहरूसँग मिलेर राल्फा नामक सांस्कृतिक समूहको स्थापना गरेका थिए।

साहित्यमा सक्रिय मञ्जुलका प्रकाशित कृतिहरूमा कविताकृति ‘साहिँली मोरीलाई’, संस्मरणकृति ‘सम्झनाका पाइलाहरू’, उपन्यास ‘छेकुडोल्मा’, कविताकृति ‘मृत्यु कविता’, जीवनी ‘पहाडजस्तो–बाटोजस्तो म’ लगायतका पुस्तकहरू छन्।
 उनले राष्ट्रिय प्रतिभा पुरस्कार, साझा पुरस्कार लगायतका सम्मान प्राप्त गरिसकेका छन् र अझै सिर्जनामा सक्रिय छन्।
 एपेक नेपालद्वारा ‘विश्व ज्योति युवा पाण्डुलिपि पुरस्कार’ पनि स्थापना गरेको छ। ४० वर्ष मुनीका युवा सर्जकलाई प्रदान गरिने यो पुरस्कार सुर्खेतकी लेखक हिमा रोक्कालाई प्रदान गरिएको हो।गत वर्ष यो पुरस्कार सुदूरपश्चिमका युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’ लाई प्रदान गरिएको थियो।
 समारोह एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको अध्यक्षता र प्राडा अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

कृति विमोचन
समारोहमा भारत र नेपालका ६१ जना कविहरूको नेपाली र हिन्दी भाषामा अनुवाद भएका कविताको पुस्तक `अनुभूति´को लोकार्पण र हिमा रोक्काको एपेक द्वारा प्रकाशित लघुकथा संग्रह `प्रतिज्ञा´ समेत सार्वजनिक गरियो । 
कार्यक्रमको सञ्चालन चर्चित साहित्य स्रष्टा लिला अनमोलले गर्नुभएको थियो ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।