काठमाडौँमा कलाकार रीना रायँको ‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन
झापा २० असोज /भारतीय फिल्मी कलाकार रीना रायँको जीवनी समेटिएको पुस्तक ‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ काठमाडौँमा विमोचन गरिएको छ ।
नेपालका प्रथम पत्रकार स्वर्गीय रघुनाथ प्रसाद रौनियारका जुम्ल्याहा छोरा रमेश कुमार रौनियार र उमेश कुमार रौनियारले पुस्तक लेखेका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा नेपाली राष्ट्रिय समाज सेवा परिषद्को आयोजनामा भएको कार्यक्रममा कलाकार टंक तिमिल्सिना, प्रेम कैदी, डा. युद्ध एस. रौनियार र गोकुल पन्तले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकका लेखकद्वयले भारतीय कलाकार रीना रायँको जीवनी लेख्न पाएकोमा खुसी व्यक्त गर्दै नेपालमा लेखक तथा कलाकारको सम्मानमा फोटो प्रदर्शनी गर्न संग्रहालय स्थापना गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा लेखकद्वयले आफूहरूलाई फेसबुकमार्फत ‘प्रभु प्रसाद’ले रीना रायँको जीवनी लेख्न प्रेरित गरेको बताए । उनीहरूले ‘कलम यस्तो प्रयोग हो, जसले संसार नै बदल्न सक्ने हतियार हो’ भन्ने धारणा पनि व्यक्त गरे ।
समाजसेवी रेखा रौनियारले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन् ।कार्यक्रमको अध्यक्षता पत्रकार तथा राजनीतिक अभियन्ता प्रेम कैदीले गरेका थिए ।