कथाकार नारायण तिवारीकाे बाह्राैं कृति 'जङ्गबहादुर पनि हाँस्छ?' विमोचन
झापा ६ बैशाख/कथाकार नारायण तिवारीकाे पछिल्लो कृति 'जङ्गबहादुर पनि हाँस्छ?' कथासङ्ग्रहको विमोचन गरेकाे छ।
शनिबार काठमाडौंमा शिखा बुक्सद्वारा आयोजित कार्यक्रमका प्रा.डा.दयाराम श्रेष्ठ,आख्यानकार नारायण ढकाल,कवि श्यामललगायतले कथाकृति सार्वजनिक गरे।कथाकार तिवारीको यो १२औँ कृति हो ।
कार्यक्रममा प्रा.डा. श्रेष्ठले कथा लेखनका दुई पक्ष प्राविधिक र ऐतिहासिकमध्ये प्राविधिक पक्षमा नभई ऐतिहासिक पक्षमा बोल्ने बताउँदै तिवारीका कथाहरू सरल तर गम्भीर हुने गरेको बताए ।
आधा शताब्दीभन्दा अघिदेखि कथा लेख्न थालेका तिवारीको २०३० मा प्रकाशित कथा ‘ती सबै मेरा सपना थिए’को चर्चा गर्दै उनले धेरै कथाकारले जीवनका विसंगतिका बारेमा लेखेका बेला तिवारीले भने यसबारेमा नलेखेर पूर्वी तराईको परिवेशमा कथा लेखेको उल्लेख गरे ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै डा. ज्ञानु अधिकारीले तिवारीका कथाहरू सरल तर खारिएको हुने गरेको बताइन् । प्रत्येक कथा पूर्वी तराई भेगको विराटनगरसँग जोडिएको बताइन् । सङ्ग्रहभित्रका २७ कथाहरूमध्ये ‘जमाना खराब छ’, ‘कुर्ता सुरुवाल’ र ‘टुंग–टुंग’ शीर्षकका कथाकाबारेमा चर्चा गरिन् ।
पाठकीय मन्तव्य राख्दै कवि श्यामलले कथाकारजस्तै उनका कथा पनि सरल र सुललित भएको बताए । कथाको गति अविरल बगेको बताउँदै उनले कथाको गद्य प्रभावकारी भएको चर्चा गरे । श्यामलले नारायणका कथा परम्परागत संरचनाभन्दा फरक रहेको र मैथिली भाषा राम्रोसँग प्रयोग भएको बताए ।
आख्यानकार ढकालले तिवारीका कथामा गम्भीरता भएको उल्लेख गर्दै कथा लेखन परम्पराको चर्चा गरे।उनले कथाकार पुष्कर शमशेर,विश्वेश्वरप्रसाद कोइराला र गुरूप्रसाद मैनालीको कथाको चर्चा गरे ।
कथाकार तिवारीले आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पारे।शिखा बुक्सद्वारा प्रकाशित कथाकृतिको मूल्य ५९५।– रुपैयाँ रहेको छ ।