कथा यात्रा समूहले “आख्यान मञ्जिरा” शीर्षकमा विकलसहित चार पुस्ताका कथामाथि विमर्श

खगिन्द्रा खुसी · चैत १, २०८२ ९:१९ AM
Cover Image for News

झापा, चैत १ । शनिबार रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा कथा यात्रा समूहले “आख्यान मञ्जिरा” शीर्षकमा प्रसिद्ध कथाकार रमेश विकलसहित उहाँका चार पुस्ताहरूको कथामाथि विमर्श गरेको छ । 

रमेश विकल साहित्य प्रतिष्ठानका पदाधिकारीहरू र केही स्थानीय कथाकारहरूको बीचमा सञ्चालन भएको उक्त कार्यक्रममा कथा यात्रा समूहका सदस्यहरूले विभिन्न विषयमा समीक्षात्मक प्रस्तुति राखेका थिए । 

रमेश विकलका कथाकारितामाथि “नयाँ सडककको गीतमा गुञ्जिएको मानवतावादी चिन्तन” शीर्षकमा पवित्रा अधिकारीले एवम् “भ्वाइलेन र भाउजू” शीर्षकमा विश्व कुइकेलले प्रस्तुति राख्नुभयो । यस्तै रमेश विकलका छोरा एवम् गोरखापत्र संस्थानका पूर्व अध्यक्ष कथाकार विजय चालिसेमाथि प्रमोद प्याकुरेलले र अर्का छोरा महेन्द्र चालिसेमाथि “अमूर्तताको अस्तित्वमा महेन्द्र चालिसे” शीर्षकमा दीपक लोहनीले प्रस्तुति राख्नुभयो । 

यस्तै नातिपुस्ते कथाकार आलोक चालिसेमाथि हरिश कल्पित एवम् विकलकी पनातिनी आयुषा चालिसेको कथाकारितामाथि डा. हिमलाल श्रेष्ठ र कुमार काफ्लेले प्रस्तुति राख्नुभएको थियो । 

कथा साहित्यमाथिको सिर्जनात्मक कदमको रूपमा यस विमर्श कार्यक्रमले कथा सिद्धान्त र विकलको साहित्यिक विरासतको मात्र चर्चा नगरी पुस्तान्तरणसँगै कथ्य सोच्ने शैलीमा समेत कसरी परिवर्तन आएको छ भन्ने विषयमा समेत चर्चा गर्यो ।

सात जना कथाकारहरूले तयार गरेको समीक्षात्मक पुस्तिका हस्तान्तरणको क्रममा कथा यात्रा समूह र प्रतिष्ठानका वीच आख्यान मञ्जिरा कार्यक्रमलाई निरन्तरता दिने सहमति समेत भएको प्रतिष्ठानका सचिव आलोक चालिसेले बताएका छन् ।

 

ट्यागहरू:
literature puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।