कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव-२०८२ बिर्तामोडमा आयोजना हुने
झापा २३ चैत्र /बिर्तामोडमा कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव-२०८२ हुने भएको छ ।
कोशी पर्यटन वर्ष २०८२ को कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा नेपाल र भारतका सीमावर्ती प्रदेशका पर्यटन सम्बद्ध संघसंस्थाहरुबीच उत्सव हुने भएको हो।
भोलि चैत २४ र २५ गते बिर्तामोडको सिटी सेन्टरमा सीमापार संस्कृति सम्पदा र पर्यटनको उत्सव भन्ने मूल नाराका साथ कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
उत्सवको सम्पूर्ण तयारी पूरा भएकोले पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन,वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नेछन् ।
पर्यटन कार्यालय काँकरभिट्टाको प्रवद्र्धनमा हुन लागेको उत्सवले नेपालको कोशी प्रदेश र भारतको बंगाल क्षेत्रबीच सांस्कृतिक आदान–प्रदान तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
उत्सव आयोजक समितिकी संयोजक इन्दिरा श्रेष्ठले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।
पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाले उत्सवमा नेपालका १८ वटा र बंगालका १२ वटा स्टल रहने बताए।ती स्टलहरूमा स्थानीय खाद्य सामग्री,हस्तकला तथा पर्यटनसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिनेछ ।
उत्सवमा टुर तथा ट्राभल व्यवसायी, होटल तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहनेछ भने उनीहरूको सेवा र प्याकेजहरूको मार्केटिङसमेत गरिने होमस्टे महासंघ नेपाल कोशी प्रदेशका सचिव मञ्जिल देवानले जानकारी दिए ।
साथै,फोटो तथा चित्रकला प्रदर्शनी, सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति कार्यक्रमहरू पनि समावेश गरिने आयोजकले जनाएको छ ।
आयोजक समितिका सदस्य सचिव निरोज कट्टेलका अनुसार यस महोत्सवले सीमापार पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।