ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक
झापा ५फागुन /महिला उद्यमी एवम् कथाकार शोभा ज्ञवालीको तेस्रो कथासंग्रह ‘मन्दाकिनी’ सार्वजनिक भएको छ ।
काठमाडौंमा शनिबार आयोजित विशेष समारोहबीच नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी, साहित्यकार डा. नवराज लम्साल, साहित्यकार बबिता बस्नेत, कथाकार ज्ञवालीलगायतले संयुक्त रूपमा ‘मन्दाकिनी’ सार्वजनिक गरेका हुन् ।
मन्दाकिनीमा समकालीन नेपाली समाजका विविध आयाम,संवेदना र परिवर्तनको आकाङ्क्षालाई समेटिएको छ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्सालले ‘मन्दाकिनी’ले समकालीन समाजका सम्बन्ध, संघर्ष र भावनात्मक आयामलाई सशक्त रूपमा प्रस्तुत गरेको बताए ।
‘उहाँको क्रियाशीलता कतै पत्रकारिता भएर, कतै नारीको नेतृत्वदायी दिदी भएर र कतै कथाकार भएर पोखिएको छ । उहाँको लेखनको केन्द्र नारी शक्ति हो,’ लम्सालले भने ।
कार्यक्रममा बोल्दै लेखिका ज्ञवालीले यस कृतिलाई परिवर्तनतर्फको सानो यात्रा भएको बताइन्। ‘यो कृति समाजभित्र गुम्सिएका आवाजहरूलाई उजागर गर्ने र समाजका यथार्थ विषयवस्तुलाई शब्दमार्फत बाहिर ल्याउने एउटा प्रयास हो।’ उनले भनिन्। 
उनीहरूले ‘मन्दाकिनी’ ले पाठकलाई सोच्न, अनुभूति गर्न र सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे।
यसअघि ज्ञवालीका ‘सम्पूर्ण आकाश’ र ‘संघर्ष’ नामक कृतिहरू प्रकाशित भइसकेका छन्। ती कृतिहरूले जस्तै ‘मन्दाकिनी’ ले पनि सामाजिक यथार्थलाई केन्द्रमा राख्दै मानव संवेदनाको गहिराइ स्पर्श गर्ने विश्वास व्यक्त गरिएको छ।