साहित्यसुधा नेपालबाट तीन स्रष्टा सम्मानित
झापा, फागुन ९ । साहित्यसुधा नेपालबाट तीनजना स्रष्टाहरु सम्मानित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आफ्नो सातौँं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको कार्यक्रममा प्राडा अञ्जना वस्तीलाई हरिभक्त साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२, कवि जगन्नाथ आचार्यलाई केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२ तथा कवि असीम सागरलाई मनीषा साहित्यसुधा सङ्घर्षशील सम्मान तथा पुरस्कार २०८२ प्रदान गरिएको हो । कार्यक्रमकी सभाध्यक्ष कल्पना काफ्ले, प्रमुख अतिथि माया ठकुरी तथा विशिष्ट अतिथिहरुद्वारा तीन स्रष्टालाई दोसल्ला, पन्ध्र/पन्ध्र हजार नगद राशि तथा प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रममा सम्मानित व्यक्तिहरुको जीवनी तथा कृतित्वबारे साहित्यसुधा नेपालका संरक्षक प्रा.डा देवी नेपाल तथा कवि तथा साहित्यसुधा नेपालका सल्लाहकार कलानिधि दाहालले प्रकाश पार्नुभएको थियो । उहाँहरुले सम्मानित व्यक्तिहरुले नेपाली भाषा र साहित्यको विकासमा खेलेको भूमिकाको चर्चा गर्दै सम्मानले उर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथिहरुकातर्फबाट डा.तुलसी भट्टराई तथा डा.अभि सुवेदीले मन्तव्य राख्दै सम्मान पुरस्कार प्रापकहरुलाई बधाई शुभकामनासहित नेपाली साहित्यमा उहाँहरुको थप योगदानको अपेक्षा व्यक्त गर्नुभयो । प्रमुख अतिथि साहित्यकार माया ठकुरीले पनि सम्मानितहरुलाई शुभकामनासहित एउटा भजन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यसुधा नेपालका उपाध्यक्षले स्वागत मन्तव्य राख्नुभएको थियो । साहित्यसुधा नेपालले ‘साहित्यको सम्वर्द्धन, हाम्रो अभियान’ को परिकल्पना बोकेर आफ्ना साहित्यिक गतिविधिहरु अघि बढाउँदै आएको छ ।