११ वर्षीय अभिक गौतमको ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ लोकार्पण

दिलिप घिमिरे · फागुन ९, २०८२ ८:५० PM
Cover Image for News

झापा ९ फागुन / ११ वर्षीय कक्षा ५ मा अध्ययनरत अभिक गौतमद्वारा लिखित पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ विशेष समारोहका बीच लोकार्पण गरिएको छ।
काठमाडौंस्थित निसर्ग बाटिका स्कूलमा अध्ययनरत गौतमको करिब १०० जना विशिष्ट अतिथि,उनका विद्यालयका साथीहरू,उनीहरूका अभिभावक तथा परिवारजनको उपस्थितिमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष तथा अग्रणी निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ९ वर्षकै उमेरमा उपन्यास तयार पार्नु सानो उपलब्धि नभएको उल्लेख गर्दै नेपाली साहित्यका लागि गर्वको विषय भएको बताए। उनले अभिकबाट आगामी दिनमा अझै उत्कृष्ट कृतिहरूको अपेक्षा रहेको धारणा व्यक्त गरे।
विशिष्ट अतिथि वरिष्ठ साहित्यकार तथा समालोचक प्रमोद प्रधानले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपन्यासमा यात्रा,रोमाञ्च र साहसिक तत्वको सशक्त संयोजन रहेको बताए।

फोटो
सञ्चारकर्मी विन्देश दहालले उपन्यासमा विचित्र जनावर र पृथक संसारको निर्माण गरिएको उल्लेख गर्दै कथामा आमाप्रतिको सम्मानभाव पनि सुन्दर ढंगले प्रस्तुत भएको बताए। 

कृतिकार अभिक गौतमले आफूले पाएको माया र हौसलाले थप उत्साह मिलेको बताउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रम नियात्राकार प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो भने भुँडीपुराण प्रकाशनका केशव पराजुलीले सभापतित्व गरेका थिए।
कम उमेरमै देखिएको सृजनात्मक क्षमता र साहित्यप्रतिको प्रतिबद्धताले अभिक गौतमलाई बालसाहित्यको उदीयमान हस्ताक्षरका रूपमा स्थापित गर्ने संकेत गरेको छ।

ट्यागहरू:
आख्यान बाल साहित्य #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।