हेटौंडामा तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२ सम्पन्न

दिलिप घिमिरे · पौष २६, २०८२ ९:५२ PM
Cover Image for News

झापा २६ पुस/साहित्य सङ्गम मकवानपुरको आयोजनामा तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२ शनिबार  सम्पन्न भएको छ।

साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।
साहित्य संगम मकवानपुरको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगितामा मकवानपुरका किशन पौडेलको ‘दोहन’शीर्षकको कविता प्रथम हुनुभएको छ । प्रतियोगिताअन्तर्गत हेटौँडामा सम्पन्न कविता प्रस्तुतीपछि निर्णायकले पौडेलको कवितालाई प्रथम घोषणा गरेको हो।पौडेलले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा कैलालीका मोहित जोशीको कविता ‘समयको अन्त्यको किनारमा उभिएर’ द्वितीय घोषित हुँदै नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सुनसरीका किरण सिवाको कविता ‘मौन प्रकृति’ तृतीय हुँदा तनहुँका नरोत्तम श्रेष्ठको कविता ‘बीउको रक्तिम घोषणापत्र’ र काठमाडौंकी यशोदा अधिकारीको कविता ‘धर्तीको बिघटन’ सान्त्वना घोषित भए । तृतीय हुनेले १० हजार नगद प्राप्त गर्दा सान्त्वना हुनेले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

फोटो
कार्यक्रममा उत्कृष्ट हुन सफल १० वटा कविताहरु वाचन गरिएको थियो । प्रतियोगितामा सहभागिताका लागि १६४ कविता प्राप्त भएको आयोजकले जनाएको छ । प्रतियोगितामा साहित्यकार निमेष निखिल र विजय हितान निर्णायक रहनुभएको थियो ।

यसैगरी ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस आयोजना गरिएको थियो । बहसमा साहित्यकारहरु चितवनका इश्वर कँडेल, रुपन्देहीका विजय हितान र मकवानपुरका घनश्याम घिमिरे बहसकर्ताको रुपमा सहभागी हुनुहुन्थ्यो भने बहसको सहजीकरण साहित्यकार सुवास खनालले गर्नुभएको थियो।
फोटो
बहसमा सहभागीहरुले प्रकृतिले नै मानवलाई नियन्त्रणमा राख्ने भएकोले प्रकृति मानव जीवनको अभिन्न हिस्सा भएको बताएका थिए । साहित्यमा प्रकृति अर्थात पर्यालाई प्राथमिकतामा राखिनुपर्ने पनि उनीहरुको भनाइ थियो।यस्तै प्रकृति नै संसारको अन्तिम सुन्दरता र सत्य भएको जीकिर गरिएको छ । 

ट्यागहरू:
पर्याकविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।