गोविन्द शाण्डिल्यको ‘गजल गोविन्द’मा रहेको भाव र शिल्पपक्षको सम्यक् विश्लेषण

लक्ष्मण अधिकारी पोष्ट - खगिन्द्रा खुसी · भदौ ६, २०८१ ८:४८ PM
Cover Image for News

गोविन्द शाण्डिल्य र उनको लेखनपक्षको संक्षिप्त परिचय 

असममा गजल भन्नसाथ सबैका मनमा आइहाल्ने नाम हो गोविन्द शाण्डिल्य । गोविन्द शाण्डिल्यले गजल लेखन विधाको गहिराइसम्म अध्ययन गरेर गजल लेखेका छन् । त्यसैले उनी स्थापित छन् यो विधामा । जुनबेला असममा गजल विधाको चर्चा थोरै मात्रामा हुन्थ्यो, त्यो बेला गोविन्द शाण्डिल्यका गजलहरू असममा अभिगुञ्जित थिए । अहिले यो विधामा युवा जमात जुर्मुराएर अघि आएको छ, थुप्रै गजलकारहरू जन्मिएका छन् । आजको मितिमा शाण्डिल्यका गजलहरू राष्ट्रियस्तरमा समेत समादृत छन् । कुनै एक समयमा गोविन्द शाण्डिल्य एक्लै असम-कोक्राझारको एउटा भित्री ठाउँ आमटेका जस्तो गाउँमा गजल गुनगुनाइरहेका हुन्थे। तर त्यहाँको गुनगुनाहट आज असम मात्र नभएर समग्र भारत तथा नेपाली साहित्यमै व्याप्त हुनपुग्यो र उनी उत्तरपूर्वाञ्चलको पहिलो गजल दीवान (गजलको पुस्तक लेखक) बन्न पुगे । उनी गजल लेख्ने क्रममा थुप्रै अघिबाट स्थापित भए तापनि उनको पहिलो गजल सङ्ग्रह भने सन् २००६ मा प्रकाशित ‘गजल गान्धार’ हो । हुन त उनी कवि हुन्, गीतकार हुन् र हाइकुकारसमेत हुनुका साथै थुप्रै पत्रपत्रिकाका सम्पादक पनि हुन् । तर यहाँ गजल सन्दर्भका कुराहरू गरिने हुँदा उनका अरू कृतिको नाम लेखिएन । ‘गजल गान्धार’पछि उनले सन् २०११ मा ‘मृगतृष्णा’ नामको अर्को गजल सङ्ग्रह प्रकाशित गरे अनि आजसम्मको लेखाइमा र गजल विधामा अन्तिम देखिएको गजल तेस्रो सङ्ग्रह भने सन् २०२२ मा प्रकाशनमा आएको ‘गजल गोविन्द’ हो । यसै त अहिलेसम्म उनका कविता सङ्ग्रह - ५, गीत सङ्ग्रह – १, हाइकु सङ्ग्रह - ४ र गजल सङ्ग्रह – ३ गरी जम्मा १३ वटा कृतिहरू प्रकाशित छन् । यो लेखमा चाहिँ शाण्डिल्यको तेस्रो गजलकृति ‘गजल गोविन्द’को सम्यक् चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ । 

 

नेपाली साहित्यमा गजलको क्रमविकासर ‘गजल गोविन्द’

‘गजल’ अरबी र फारसी भाषाको खुड्किलो उक्लिँदै आएको हो र भारतमा गजल लेखन परम्मपरा सर्वप्रथम हिन्दी भाषामा भएको पाइन्छ र यसका प्रवर्तक अमीर खुसरू (१२५५-१३२५) मानिएका छन् । यद्यपि यो विषयमा विद्वान्हरूको मतैक्य छैन ।

      नेपाली भाषाको गजल लेखनमा भने भारत र नेपाल दुवै देशमै नेपाली साहित्यको माध्यमिक कालका मोतिराम भट्ट नै यो विधाका प्रवर्तक मानिएका छन् । मोतिराम भट्ट नेपालका भए पनि उनले भारतभूमिबाट गजल लेखन सुरु गरेका थिए । उनका पालामा गजलको राम्रै चर्चा भएको हो र पनि उनीपछि केही वर्षसम्म यो विधा सुषुप्त रह्यो । वि.सं  २०३६ बाट ज्ञानुवाकर पौडेलको गजलमा आगमन भएपछि यो विधा पुन: जागृत भएको देखिन्छ ।

      नेपाली साहित्यमा र नेपालमा यो विधा मौलाउँदै गएपछि यता भारत पनि यो विधामा चुप्प लागेर बस्न सकेन । सन् १९१६ मा गङ्गाप्रसाद पादरीको सम्पादनामा निस्किएको ‘गोर्खे खबर कागत’मा पारसमणि प्रधानका केही गजलहरू प्रकाशित भएका थिए । ती गजलहरूको प्रशंसा शम्भुप्रसाद ढुङ्गेलले पनि गरेका हुन् । हुन त पारसमणि प्रधानका गजलहरू संरचनाको प्राथमिक लक्षणबाट पनि टाढै थिए तापनि गजलको पृष्ठभूमि बनाइदिने आधार भने पारसमणि प्रधानकै गजलहरू हुन् । यसका केही कालपछि सन् १९३८ मा देहरादूनबाट बहादुरसिंह बरालले पनि गजल लेखेका हुन् । उनका गजलहरू ‘बरालका आँशु’ भन्ने सङ्ग्रहमा समावेश थिए अनि त्रुटिहीन थिए । तर सङ्ग्रहमा थुप्रै रचनाकारहरूका गीत, गजल समावेश भएकाले गजलको मात्र सिङ्गो रचना थिएन यो । यसपछि भने पुस्तकाकारमा भारतमा गजल नदेखिएको ठहर गर्छन् जानकारहरू । पछि एक्कैचोटि २००१ बाट पुन: भारतमा गजल पुस्तकाकारमा देखा पर्न थाल्यो । गजल दीवान (गजलको पुस्तक) प्रकाशनमा असम, दार्जिलिङ र सिक्किमको भूमिका नै देखियो सर्वोपरि । 

      असममा गजललाई चर्चामा ल्याउने गोविन्द शाण्डिल्य अहिले देखिएका एकान्त गजल साधक हुन्, यसमा दुईमत नहोला । गोविन्द शाण्डिल्य प्रखर कवित्व सम्पन्न, गुणग्राही, अल्प अनि मिष्ठभाषी र गजलजस्तै वाक् प्रहारी कुशल व्यक्तित्व हुन् । उनको शब्द चयनमा पाण्डित्य र लय चयनमा जातीयता स्पष्टत: झल्किएको छ । स्वजातीय सभ्यता-संस्कृति, आदर्श र उत्तरदायित्व उनमा रहेको प्रमाण उनका गजलहरूले दिइरहेका छन् अनि आजको गजल मात्रै शृङ्गार, नारीसँगको संलाप र सौन्दर्यबोधभित्र नरहेर समग्र भौतिक विषयमा पनि लेखिन थालिएको प्रसङ्ग आत्मसात गर्दै शाण्डिल्यले पुरानो मान्यता र आज अपनाइएको मान्यता दुवैमा आफ्ना गजलहरू प्रशस्त प्रस्तुत गरेर आफ्नो गजल लेखनको कुशलता प्रकट गरेका छन् । असमेली नेपाली गजल साहित्यलाई उकास्ने दायित्वको निर्वहन गर्दै नेपाली पाठकको दृष्टिका केन्द्रविन्दुसमेत बनेका छन् शाण्डिल्य । शाण्डिल्यका गजल विषयमा महाकवि, समालोचक विद्यापति दाहालको भनाइ यस्तो छ- “... भौतिक समता - विषमता अतिरिक्त दार्शनिक पक्ष र अध्यात्मवादको चरम विन्दुतर्फ उनको सृष्टि चैतन्य धावित भइरहेको उपलब्धि मैले गरेको छु ।”

 

‘गजल गोविन्द’को बहर पक्ष वा छन्द विश्लेषण

      गजल गोविन्द गम्भीर भाव विन्यास, ललित र कोमलपदावलीहरूको सम्मिश्रण हो यसमा सन्देह लागेन । गोविन्द शाण्डिल्यका गजलहरूमा गजलमा हुनुपर्ने -‘हृदयस्पर्शी लयात्मकता, सौष्ठवपूर्ण प्रतीकसम्पन्नता र भावमय मनोहारी प्रस्तुति’ जस्ता अनिवार्य तत्त्वहरू समाविष्ट छन् अनि पाठ्य मात्र बन्न सक्ने र गायन संरचनाभित्र पनि पर्नसक्ने दुवै किसिमका गजलको रचना शाण्डिल्यले गरेका छन् । यस उपरान्त गजल लेखिने लय विधानमा पनि गजलकार अत्यन्त सचेत र सावधान देखिएका छन् । नेपाली गजल परम्पराअनुसार गजल जम्मा ६ प्रकारको लय व्यवस्थाभित्र रहेर लेखिँदै आएको प्रसङ्ग विज्ञजनहरू बताउँछन्। कारण गजलमा गेयात्मकता रहने हुनाले यसमा लय अनिवार्य रूपमा आउनै पर्ने हुँदा विशेष नियमअन्तर्गत रहेर मात्र गजल रचिन्छ । गजलका निम्ति लयात्मकता अनिवार्य पक्ष हो । बहर, छन्द, लोकभाका तथा मौलिक लयमध्ये एउटा वा एकाधिकको लयको प्रयोग विना गजलको संरचना हुन सक्तैन । विद्वान्हरूले लयात्मकताका निम्ति निम्न लयहरू देखाएका छन्- 

            १.     फारसी बहरको सचेत प्रयोग 

            २.     पिङ्गलछन्दको प्रयोग

            ३.     लोकछन्दको प्रयोग

            ४.     स्रष्टानिर्मित सैद्धान्तिक छन्दको प्रयोग

            ५.     परम्परित तर नियमबद्ध लयको सचेत प्रयोग र 

            ६.     स्वतन्त्र वा मुक्तलयको प्रयोग ।

       (यी छवटा तत्त्व असम नेपाली साहित्य सभाले प्रकाश गरेको ‘गजल सिद्धान्त एवं विकासयात्रा’ मा रहेको ‘गजलको सौन्दर्य शास्त्र’ - देवी नेपालद्वारा लेखिएको लेखको आधारमा लेखेको हुँ ।)

      गजल गो शाण्डिल्यको गजल गोविन्दमा छन्द विश्लेषणमा पस्ने हो भने यी गजलहरूमा - फारसी बहर, पिङ्गलछन्द, स्रष्टानिर्मित सैद्धान्तिक छन्द र स्वतन्त्र मुक्त लयको प्रयोग छैन । उनका गजलहरूमा लोकछन्द र परम्परित तर नियमबद्ध लयको सचेत प्रयोग भएको देखिन्छ । उनले प्रयोग गरेका लोकछन्दभित्र झ्याउरे, सवाई, सेलोआदि पर्छन् । यी छन्दहरू यति, गति र अक्षर गणनाअनुसार गेयात्मकरूपमा लेखिने छन्द हुन् । झ्याउरे १६ अक्षरमा, सवाई १२, १३, १४ अक्षरमा र सेलो ७-८ अक्षरमा लेखिन्छ । यी दुवै छन्दको प्रयोगमा यति, गतिको विशेष नियमभित्र रहनुपर्ने आवश्यकता भने रहेको हुन्छ । शाण्डिल्यले गजल गोविन्दका गजलहरूमा झ्याउरे, सवाई र सेलो गरी जम्मा तीनवटा छन्द लोकछन्दबाट लिएका छन् भने ‘परम्परित तर नियमबद्ध लयको सचेत प्रयोग’ पनि गरेका छन् । उनको ‘गजल गोविन्द’को पहिलो गजल १६ अक्षरी झ्याउरे लोकछन्दमा छ ।

            बदल्नु पर्छ पुरानो बाटो पर्खिनु जरुर

            वाध्यता नौलो देखिन आँटो पर्खिनु जरुर

            ठुलै छ घाउ चेतनाभित्र नियाली हेर न

            केही त गर्दा बस्थ्यो कि खाटो पर्खिनु जरुर

      यो गजलको छन्द लोकछन्द झ्याउरे हो अघि नै भनियो । ३+२, ३+२, ३+३ अक्षरमा विराम लिँदै गाइने लोकलय नै झ्याउरे हो । यसमा जम्मा १६ वटा अक्षर हुन्छन् । उक्त गजलमा यो सूत्रको पालन भएको छ । यसर्थ यो झ्याउरे हो ।  नेपालीको जातीय छन्द र लक्ष्मीप्रसाद देवकोटाले समेत अति प्यारो मानेको अनि कालजयी ‘मुनामदन’जस्तो अमर कृति रचना गरेको छन्द नै झ्याउरे लोकछन्द हो । झ्याउरे छन्दबारे लक्ष्मीप्रसाद देवकोटा आफैँले यसो भनेका छन् —

            क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !

            यो खेतभित्र बिरुवा रोपेँ नदेखी खनेको !

            फुलेर जाओस् वैलेर जाओस् ईश्वर इच्छा हो,

            पयरमनि नकुल्च, भाइ! यो मेरो भिक्षा हो ।

            .....................................................

            प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ?

            .....................................................

            नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,

            भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल ।

      लोकछन्द झ्याउरेमा जातीय चेतना सलल बग्सक्छ भन्ने देवकोटाको भनाइलाई गोविन्द शण्डिल्यले आत्मसात गरेका हुन् भन्नसक्ने अवस्था ‘गजल गोविन्द’ले देखाएको छ । यो पुस्तकमा थुप्रै गजलहरू यसै छन्दमा छन् । सरल प्रक्रियाद्वारा यति र गतिका आधारमा गहनभाव भर्नसकिने झ्याउरे छन्द नेपाली साहित्यमा लोप हुन नदिनु कवि, सायरहरूको लेखकीय दायित्व बन्दछ । फेरि फारसी बहरका अर्कान र पिङ्गलछन्दका गणहरूको झन्झटबाट पनि मुक्त छ अनि गजललाई चाहिने गेयात्मकता पनि प्रदान गर्दछ । शाण्डिल्यले यो छन्द कुशलतापूर्वक निर्वहन गरेका छन् ।

      उसैगरी सवाई छन्दमा पनि शाण्डिल्यको कलम कलासहित चलेको पाइन्छ । सवाई १२, १३, १४ अक्षरको छन्द हो र यति र गतिकै आधारमा लेखिन्छ । सवाई छन्दमा ‘गजल गोविन्द’भित्रका थुप्रै गजलहरू शाण्डिल्यले लेखेको पाइन्छ —

                  थुङ्गाहरू विश्वासका ओइलिन लागे

                  वाचा जति सबै तिम्रा मूल्यहीन लागे

                  मिठो हुन्न आँसु सुन जस्ले पनि पिए

      यो १४ अक्षरी सवाई हो । ४+४+४+२ को यति र गतिका आधारमा यो निर्माण हुन्छ । जातीय चेतनायुक्त शाण्डिल्यका मिसराहरू सवाई छन्दमा पनि थुप्रै छन् । यसै गरी सेलो पनि उनको कलमबाट छुटेको छैन । 

      यस उपरान्त पनि गजलमा ६, ७, ८, ९, १०, १२, १३, १४, १६, १७ अक्षरसम्म भएका मिसराहरू लेख्न सकिन्छ । माथि भनिएको थियो, शाण्डिल्यले अनुशासितरूपमा व्यवहार गरेको नेपाली बहर हो - ‘परम्परित तर नियमबद्ध लयको सचेत प्रयोग’। यो लयभित्र माथिका अक्षर गणनाक्रमलाई राख्नसकिन्छ अथवा यो प्रयोगकर्तामाथि निर्भर हुने लय हो । मात्र यो लयमा नियमबद्धता अनुशासन, अक्षरगत अनुरूपता, मात्रागत समानता गति यति र आरोह अवरोहको पालन भएको हुनुपर्छ । गजलका दुवै मिसरा सम अक्षर सङ्ख्यामा राख्न आवश्यक छ । गजलकार शाण्डिल्यले यो लय विधानलाई पनि आत्मसात गरी मिसराहरू लेखेका छन् । उदाहरणार्थ लिन सक्छौँ-

            आगोसँग खेल्नसक्छु पानीसँग खेल्नसक्छु

            पेल्नुपेल्यो दु:खले लौ अब दु:ख पेल्नसक्छु

      यो गजलाई १६ अक्षरी स्वतन्त्र अथवा स्वनिर्मित अथवा परम्परित तर नियमबद्ध लयको सचेत प्रयोगको रूपमा लिनसक्छौँ ।

 

शाण्डिल्यका गजलहरूको विशेषता

      गजलमा हुनुपर्ने अन्त: संरचना र बहि: संरचनाको सम्यक् निर्वहन भएको छ शाण्डिल्यका गजलहरूमा । सैद्धान्तिक लयभित्र मात्र रचना गरिने गजलका सिद्धान्तभित्रै पाइन्छन् यी गजलहरू । एक समयमा ‘प्रेमिकासँगको वार्तालाप’ अर्थात् ग वाणी, ज नारी र अल सँग भन्ने अर्थमा मात्र आज गजल सीमित छैन । यसले जीवनका सबै पाटाहरू समेटेको छ र शाण्डिल्यका गजलहरूले थुप्रै भौतिक विषयहरू समेटेको पाइन्छ। उनको यो प्रेमिल गजलबाट सुरु गरेँ उनका गजलहरूको विश्लेषण ।

                  बल्झिएर घरिघरि दुखेको छ छाति

                  थोरै तिमी मुस्काउँदा हुनखोज्छ जाति ।।

      यी शब्दहरूले सामाजिक अन्तर्द्वन्द्व मेटाएर एकात्मताको आँगनमा रमाउन खोजेको भावानुभूति मात्र नपस्किएर प्रेमिकाको अधरमा आफ्ना लागि आइदिने हाँसोले कतिसम्म शीतलता प्रदान गर्छ त्यसबारे जगलकारको शब्द प्रयोगलाई सार्थक नमाने धरै छैन । कारण गजलको सृष्टि प्रेमालापबाट हो । गजल भनेको नारी सामीप्य हो भन्ने गजल जानकारहरूको भनाइ रहेको हुँदा शाण्डिल्यले त्यो आदर्शमा पनि गजल रचना गरेका छन् । यी पङ्क्तिहरू पढ्दा पाठकमा कवि हरिभक्त कटुवाल निश्चय एकपल्ट जन्मिन्छन् । ‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ ।’ गजलकार शाण्डिल्यका शब्द चयन अति मर्मस्पर्शी छन् । पाठकका मनमा भावतरङ्ग पैदा गर्न सक्षम छन् उनका गजलहरू ।  

                  चेतनामा दीपहरू जलाएर आउनु है ।

                  मर्नु पर्ला मर्ने आँट जुटाएर आउनु है ।।

      यो पङ्क्तिले पाठक वा श्रोताको आत्मा छामेको छ । ‘मर्ने आँट’ अघिको साहस र चेतनामा दीप जलाउनु भन्ने शब्दले जागृतिको अवस्थासहितको माग गरेको छ । व्यस्थाप्रति अति तीब्र व्यङ्ग्य प्रहार गरेका यस्ता कयौँ मिसराहरू छन् शाण्डिल्यका गजलहरूमा ।

      मानिस परिस्थितिको दास हो । समयसमयमा मानिसले भोगिरहेको पीडा, थिचोमिचो, अन्याय, अत्याचार र उग्रवादसमेतको कहालीलाग्दो परिस्थितिको यथार्थ चित्रण पनि शाण्डिल्यले आफ्ना गजलमा अति कुशलतापूर्वक प्रयोग गरेका छन् ।

                  डस्नु डस्यो समयले लोकलाई साथी

                  त्रास मात्रै झेल्नु पऱ्यो बारम्बार आज

      जीवन भन्नु नै सपनाहरूको समष्टि हो । सपना नभए मानिस शिखरमा पुग्ने थिएन । जीवन सुन्दर हुने पनि थिएन । सपना र कल्पना मानिसका उद्यमका कारक हुन् । शाण्डिल्यले जीवनलाई अति सूक्ष्म दृष्टिकोणले हेर्ने चेष्टा गर्दै उनी बुद्ध सम्झिन पुग्छन् । किनकि जीवन सुखमय बनाउने दौडमा मानिस असह्य पीडा भोग्न पुगेको हुन्छ । मानसिहरू जीवनमा वैभव सम्पन्न बन्ने दौडमा धावित हुन्छन् तर बुद्धले भने वैभव छोडेर सन्न्यासीरूप धारण गरे । गजलकार शाण्डिल्य शान्तिको परिभाषा खोज्दै… भौँतारिएका छन् । उनी लेख्छन् - 

                  लुकिछिपी धेरै खाएँ कल्पनाका भाङहरू

                  बेहिसाब कति हालेँ आकाशमा चाङहरू

                  .....................................................

                  पुगेको हुँ शान्ति खोज्दै लुम्बिनीका आँगनहरू

                  उस्तै देखेँ त्यहाँ पनि रक्तक्षयी चट्याङ्हरू

      यस्ता मार्मिक शब्दहरूले पाठकलाई गजलको आनन्द दिन सक्षम छन् शाण्डिल्य । उनका शब्दहरू तत्सम नभएर अधिकतम शब्द नै तद्भव छन् । यसैले ‘गजल-गोविन्द’ सहज र सरल पनि छ, अर्थमा, भावमा र शैलीमा । साथै शाण्डिल्यले शृङ्गारिक गजलमा जति कोमल र शृङ्गरिक शब्दहरूको प्रयोग गरेका छन् उति नै कठोर शब्दहरूको प्रयोग गर्न पनि पछि परेका छैनन्, व्यवस्था, राष्ट्रतन्त्र र लोकतन्त्रको आडमा आफ्नो स्वार्थ सिद्ध गर्नेहरूप्रति । उनी लेख्छन् -

                  कङ्गालै त थियो नि ऊ मुखुण्डो भिर्नुअघि

                  आज ठुलो अर्थ तन्त्र लुटेराको दखल छ

                  x     x           x     x

                  जतिजति पिटिए ती डम्फुरू विकासका

                  निमुखाको आयात ती उतिउति गिरेको छ

                  x     x           x     x

                  बडो आशा उमङ्गले चुनिएको प्रतिनिधि

                  शिखरमा पुगेपछि बनिने पो कंश हो कि

                  x     x           x     x

                  हल्ला छ आज देशको निकै उत्थान भएको छ

                  देख्तैन कोही पीडाले ग्रस्त किसान भएको छ

                  x     x           x     x

                  सपनाको खुसी सारा डुब्न पुग्यो सहरमा

                  बल्झिएर भुइँचालो आइरह्यो सहरमा

                  ..........................................

                  सर्व सुखी नागरिक समुन्नत देश एक

                  सोध्यो कस्ले ‘अनाश्रित’को के के थियो रहरमा

      उनले गजलका माध्यमबाट शान्त्वना दिने र लिने काम पनि गरेका छन् । यो गजलले वास्तव सत्य उजागर गरेको छ अनि कुनै दिन सफल होइन्छ भन्ने निष्कर्ष पनि दिएको छ ।

                  आत्तिएर हामी हुन्न विदेशीको छाप लाग्दा

                  एकचोटि नपरे त पटक्कै नै चेतिँदैन

      उसैगरी जीवनको वास्तविक भोगाइ पनि उनका कलमबाट निस्किएका छन्, जगलका रूपमा । हुनसक्छ यस किसिमका कतिपय गजल मात्र पाठ्ययोग्य होलान्, तर गजलले प्रस्तुत गरेका तकज़्हरू अति मार्मिक छन् ।

                  घोलिएको बारुद छ बतासमा जतै

                  रोकिएन निर्दोषको क्यै तड्पाइ साथी

                  x     x           x

                  दासत्वको बजारमा सस्तो भाउ घोटिदामा

                  स्वाभिमान बोल्नलाई सधैँ पछि परेकै छु

                  x     x           x

      भोग्नु परिरहेको सामयिक परिस्थितिप्रति उनको गजल बोलेको छ-

                  महत्व छैन सत्वको कुनै म्यादी न पट्टाको

                  समूल तिम्रो उच्छेद हो कि निशाना आज छ

      गायनमा पनि उच्चता प्राप्त गनज़्सक्ने यस्ता कयौँ गजलहरू पनि छन्, जो उदाहरणका लागि यहाँ एउटा प्रस्तुत गरेँ ।

                  मृगतृष्णा जिन्दगी यो हिँडेको छु लुरुलुरु

                  पाइलाको नियन्त्रण बैगुनीले गरेको छ । 

      शाण्डिल्यले यो गजल सङ्ग्रहभित्र थुप्रै प्रेमिल गजलहरू पनि समावेश गरेका छन्। एक दुईवटा यहाँ प्रस्तुत गरेँ ।  

                  माया त्यही सपनाको फसल हो प्रिये

                  अधुरो त्यो कहानी यो गजल हो प्रिये

                  x     x           x

                  मौसम यो अपार छ सुन प्रिये आज

                  नभन्नु है हतार छ सुन प्रिये आज

      ऐतिहासिक विषयको गजल पनि शाण्डिल्यले लेखेका छन् । भिन्नाभिन्नै देशमा भिन्नाभिन्नै नामले चिनिएकी र इन्द्रबहादुर राईको कलमबाट लेखिएको लीलालेखनको श्रीगणेश मानिने कथाकी नायिका जयमायालाई पनि समेटेका छन् उनले -

                  लखेँटिँदा बमाबज़ट अल्मलेकी जङ्गलमा

                  ‘इन्द्रकथा’मा जयमाया कहिएछ तिम्रो नाम

      प्राकृति सौन्दर्य वर्णन पनि उनका गजलमा छन् । जसलाई इको राइटिङ्ग भनी नामकरण गरिएको पाइन्छ ।

                  स्थिति नौलो वसन्तले रचाएछ हेर

                  मगमग बैँस मिठो बसाएछ हेर           

काफिया, रदिफ र तखल्लुसको प्रयोग

      गजलहरूमा विषयगत विभेद भए पनि अथवा प्रत्येक सेरहरूले स्वतन्त्र अर्थ बोके पनि एउटै काफिया, रदिफ  र बहर (छन्द, लय) प्रयोगले त्यसलाई एउटा सिङ्गो गजल बनाएका हुन्छन् । प्रस्तुत खण्डमा उक्त तत्त्वबारे चर्चा गर्ने जमर्को गरेको छु । 

 

गजल गोविन्दका काफिया, रदिफ र तखल्लुसको प्रयोग :

काफिया अरबी भाषाको शब्द हो र यसको अर्थ ‘बारम्बार आउने’ भन्ने हो । यो गजलको अनिवार्य तत्त्व  मानिन्छ । काफिया बेगर गजल बन्न सक्तैन । गजलकार शाण्डिल्यले गजललाई गेय र ललित पार्ने तत्त्व काफियाको सुन्दर प्रयोग गरेका छन् । प्रत्येक काफियाले पूर्वापर भावतादात्म्यलाई बिग्रन दिएका छैनन् । उनका काफियामा स्वर व्यञ्जनगत एकरूपता, ध्वनिगत समानता र मात्रात्मक नियमितता पाइन्छ। उनका काफियाले गजलको सौन्दर्य बढाएका छन् । काफिया कृत्रिमता शून्य छन् अनि उनका गजलमा पूर्ण काफिया, आंशिक काफिया कतै एकाक्षरी काफियासमेत  प्रयोगमा आएका भेटिन्छन् । 

      पूर्ण काफिया - भेटिएनौ, देखिएनौ, निस्किएनौ, थिएनौ आदि ।

      एकाक्षरी काफिया - घाटा, काट्याआदि ।

      उदाहरणको रूपमा यहाँ यति मात्र प्रस्तुत गरियो ।

      रदिफ : रदिफको प्रयोग काफियाभन्दा पछि हुन्छ । यो अरबी शब्द हो र यसको अर्थ पछि लाग्ने भन्ने हो । हुन त रदिफ  गजलको अनिवार्य तत्व होइन र पनि यो गजलका प्रसङ्गमा चलिआएको तत्त्व हो । काफिया र रदिफको सम्यक्  प्रयोगले गजललाई आकर्षक र मधुर बनाउँछन् । रदिफकै कारण गजललाई दुई भागमा बाँडिएको पनि पाइन्छ । मुरद्दफ गजल र गैर मुरद्दफ गजल । शाण्डिल्यका गजलमा भने मुरद्दफ गजलको नै अधिक प्रयोग देखियो ।

      मुरद्दफ गजल -विज्ञापन बजारमा धुमधाम भएको छ

                  कान्छीसँगै बहादुर बदनाम भएको छ

      बाँकी पठकवर्गका निम्ति नै छोडियो । अधिक उदाहरण सामेल गर्दा लेख लम्बिने भय पनि हो ।

      तखल्लुस : गजलमा हुनुपर्ने रदिफ र काफिया त उनका औँलामा नाच्तै लेखनीका टुप्पैमा बसेर तँछाड मछाड गरेको पाइन्छ । शाण्डिल्यले तखल्लुसको प्रयोग पनि अति कुशलतापूर्वक ‘अनाश्रित’ उपनाम र ‘गोविन्द’ नाम दिएर गरेको पाइन्छ। भारतीय नेपाली गजलमा ‘तखल्लुस’को प्रयोगमा खडेरी नै मानिएको भए पनि शाण्डिल्यले कुशलतापूर्वक प्रयोग गरेर ऊर्वरताको प्रमाण दिँदै आफूलाई सिद्ध गजलगो बनाएका छन् । यसका केही उदाहरण यहाँ प्रस्तुत गरेँ ।

            (क)    झनै दुख्यो छातिभित्र घाउ हे ‘गोविन्द’

                  बस्ने वाला ह्वैन खाटा थाहा भएन छ

            (ख)    समयमा स्वरहरू सक्या छैन टिप्न

                  लक्ष्यहीन ‘अनाश्रित’ हिँडेको छ माती

      यहाँ तखल्लुसको रूपमा प्रयोग भएका ‘गोविन्द’ लेखकको नाम हो भने ‘अनाश्रित’ लेखककै उपनाम हो । माथिको ‘गोविन्द’ तखल्लुसले गजलकारको परिचय दिन्छ भने तलको तखल्लुस ‘अनाश्रित’ चाहिँ द्वि अर्थबोधक छ । शाण्डिल्यले नाम र उपनाम दुवै प्रयोग गरेका छन् तखल्लुसको रूपमा । उनले त पुस्तकको नामकरणमा पनि तखल्लुसको प्रयोग गर्दै ‘गजल गोविन्द’ यी दुई पदमा पछिल्लो पद ‘गोविन्द’ आफ्नै नाम जोडेका छन् । जे होस्, गजलमा तखल्लुसको प्रयोग अनिवार्य भने होइन । यो मकता वा मक्ता प्रयोगकर्ताको इच्छानुसार प्रयोग गरिन्छ ।

गजल मुसलस र गजल गैर मुसलस

      शाण्डिल्यका गजलहरू गजल मुसलस र गजल गैर मुसलस दुवै किसिमका पाइन्छन् । भावगत एकात्मता रहेका गजल र भिन्न विषयलाई सङ्केत गर्ने अनि भावगतरूपमा पनि स्वतन्त्र रहेका गजलहरू छन् यो ‘गजल-गोविन्द’मा । यो सङ्ग्रहमा रहेको १० नं० गजललाई भाव र कथ्यका आधारमा गजल मुसलस मान्न सकिन्छ अनि १४ नं. को गजललाई गजल गैर मुसलसको उदाहरण मान्न सकिन्छ । उदाहरणका लागि उक्त दुई सङ्ख्याका गजलहरू उल्लेख गरेँ । तर यस्ता गजलहरू थुप्रै छन् ।

 

‘गजल गोविन्द’का सेरहरू 

      यद्यपि गजलमा कतिसम्म सेर हुनुपर्छ भन्ने ऐक्य विद्वानहरूमा नभए पनि शाण्डिल्यले आफ्ना सेरहरू निम्नतम चारदेखि सात सेरभित्रमा राखेका छन् । यसैले यी गजलहरू काफिया पुनरावृत्ति दोषबाट पनि मुक्त छन् । चार, पाँच, छ र सात सेरभित्रका गजलहरू गायनका निम्ति पनि उत्तम मानिन्छन् । 

      गजलमा शीर्षक दिइने प्रक्रिया चाहिँ ऐच्छिक विषय हो । त्यसैले शाण्डिल्यले आफ्ना ८२ वटा गजलमा कतै पनि शीर्षक राखेको पाइँदैन । उनका गजलहरू शीर्षकहीन र सङ्ख्या क्रममा राखिएका छन् ।

 

‘गजल गोविन्द’को भाषा र भाषाशैली

      गजलकार गोविन्दका गजलमा व्यङ्ग्य, उमङ्ग, पीडा, समसामयिक भोगाइ, शृङ्गार, मानवता, प्रेम-प्रीति, आवेग र अनुभूतिहरू स्पष्ट, प्राञ्जल र शृङ्गारिक भाषा-शैलीमा व्यक्त भएका छन्। आजको दिनमा गजल, गायन र पाठ्य दुवै विधामा रचिएको पाइन्छ । बेजोड भावानुभूति पाठकमा छोड्न गजलकार सफल छन् अनि पढिरहुँ जस्तो लाग्ने शब्दहरूको चयन छ । भनौँ उनका गजलका शब्दहरूमा जादु छ । के प्रेम, के राजनीति, के व्यवस्था अथवा के शृङ्गार सबैमा उनका शब्दचयनले सिद्धि प्राप्त गरेको छ । निरन्तर साधनाको फल उनले प्राप्त  गरिसकेको छ भन्न सकिने भावविन्यासमा उनका गजलहरू गेय र पाठ्यका रूपमा प्रस्तुत छन् ।

      गजललाई सार्थकता प्रदान गर्ने इबारत (सारतत्व), इसारत (विम्ब, प्रतीक र सङ्केत) र अदा (शिल्प वा कला)को प्रयोगमा गजलकार सिद्ध देखिन्छन् । गजलमा हुनुपर्ने अन्त्यानुप्रासको प्रयोग सुन्दर सार्थक छ । आलङ्कारिक पदविन्यासले गजलहरू श्रुतिमधुर छन् ।

      शाण्डिल्य शब्द छनौटमा सावधान र प्रयोगमा सिपालु देखिएका छन् । लयगत अक्षर, यति र गति समानताका लागि ग्रामीण शब्दहरूको प्रयोग समेत उनले आफ्ना गजलहरूमा प्रयोग गरेको पाइन्छ । भावगत गाम्भीर्यता र गेयात्मक लय भङ्ग नगरी शब्द शृङ्खलामा पाठक बाँध्न सक्षम छन् शाण्डिल्य ।

      तुकान्त, अन्त्यानुप्रासयुक्त र लोकछन्दका आधारमा रचिएका यी गजलहरू अब उसो नेपाली साहित्यको समसामयिक गजलको प्रतिनिधित्व गर्नेछन् । यी गजलहरूले पाठकका हृदयमा ठाउँ ओगट्न सक्षम हुँदै शाण्डिल्यको प्रयास सार्थक भएको घोषणा गर्नेछन् यसमा सन्देह रहेन । अस्तु ।

 सन्दर्भ सामग्री

१.     ‘गजल सिद्धान्त एवं विकासयात्रा’ (प्रकाशक - असम नेपाली साहित्य सभा) अन्तर्गत ‘गजलको सौन्दर्य शास्त्र’ - देवी नेपाल।

२.     ‘गजल सिद्धान्त एवं विकासयात्रा’ (प्रकाशक - असम नेपाली साहित्य सभा) अन्तर्गत ‘भारतमा गजल लेखन परम्परा: सर्वेक्षण एवं प्रवृत्तिगत अध्ययन’ - नवीन पौड्याल।

३.     समकालीन भारतेली नेपाली साहित्य : गति र प्रवृत्ति (प्रकाशक - असम नेपाली साहित्य सभा) अन्तर्गत ‘समकालीन भारतीय नेपाली गीत गजलका प्रवृत्तिहरू’ - सरिता समदर्शी ।

४.     गजल गान्धार - गोविन्द शाण्डिल्य ।

५.     ‘मृगतृष्णा’ - गोविन्द शाण्डिल्य ।

६.     गुगल अन्वेषण ।

लक्ष्मण अधिकारी,  ओदालगुडी, असम

ट्यागहरू:
सहित्य गजल literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
नकुल काजी पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार १० सेप्टेम्बर २०२४
कविताको आँखामा सपनाहरूको बही
कविताको आँखामा सपनाहरूको बही
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ३ सेप्टेम्बर २०२४
प्रेमका पाँच औंला कविता सङ्ग्रहको संक्षिप्त समीक्षा
प्रेमका पाँच औंला कविता सङ्ग्रहको संक्षिप्त समीक्षा
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४
महाकाव्यकार सोमराज अभयका केही कृतिहरूको चर्चा
महाकाव्यकार सोमराज अभयका केही कृतिहरूको चर्चा
खोलाघरे साहिंलो पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ अगष्ट २०२४