पहिलो मुक्तक एल्बम सार्वजनिक

खगिन्द्रा खुसी · कार्तिक १२, २०८२ ११:४२ AM
Cover Image for News

काठमाडौँ- नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक भएको छ । 'मुक्तक' नामक एल्बम सोमबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

मुक्तककारहरू रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका २/२ वटा मुक्तक विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा तयार पारिएको हो ।

bimochan- muktak.jpg 82.15 KB
एल्बम छन्द सारथि, सुप्रसिद्ध छन्दकवि रमेश खकुरेल, पूर्व मुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत साहित्यकार डा. भोजराज घिमिरे, कवि एवं समालोचक प्रा. डा. देवी नेपाल, सङ्गीतकार/गायक कन्हैया सिंह परियार, स्रष्टाका मातापिताहरू मीरा कणेल, लक्ष्मीभक्त कणेल, बद्रीप्रसाद ओझालगायतले सार्वजनिक गरेका थिए ।

एल्बममाथि टिप्पणी गर्दै प्रा. डा. देवी नेपालले मुक्तक आफैँमा छोटोमा विशिष्ट र चामत्कारिक अभिव्यक्ति दिने विधा भएको उल्लेख गर्दै पहिलो पटक नेपाली मुक्तकलाई एल्बमका रूपमा ल्याएकामा बधाई दिए ।

नेपालले गर्न बाँकी काम खोज्दै ती काम गर्ने स्वभाव स्रष्टा ओझा र सङ्गीतकार/गायक श्रेष्ठको रहेको भन्दै त्यसकै उपज उक्त एल्बम रहेको बताए ।

प्रा. डा. नेपालले नेपाली मुक्तक लेखनमा अझै परिष्कार र तीव्र झड्काको आवश्यकता रहेको पनि बताए ।
photo
स्रष्टा ओझाले संस्कृतको चतुष्पदीबाटै मुक्तक विकसित भएको तथा फारसीमा चतुष्पदीकै स्वरूपमा रुबाई लेखिएको उल्लेख गर्दै आफूहरूले चतुष्पदी र रुबाईको सम्मान गर्दै शास्त्रीय छन्द/बहरमा मुक्तकहरू रचना गरेर एल्बम ल्याएको सुनाए ।

ओझाले चतुष्पदी पिङ्गल छन्दमा र रुबाई फारसी छन्द (बहर)मा लेखिने बताए ।

साहित्यकार डा. भोजराज घिमिरेले मुक्तक लेखनको शास्त्रीय परम्परालाई गजल लेखनको शास्त्रीय परम्परालाईझैँ निरन्तरता दिएकामा खुसी व्यक्त गरे ।

मुक्तकहरू भुजङ्गप्रयात्, स्रग्विणी, दिक्पाल, पञ्चचामर, विधाता छन्दमा रचिएका छन्, जुन फारसी बहरहरू मुतकारिब मुसम्मन सालिम, मुतदारिक मुसम्मन सालिम, मुजारे मुसम्मन अखरब, हजज मुसम्मन मकबुज र हजज मुसम्मन सालिमसँग समान छन् ।

कार्यक्रममा ६ वटै मुक्तक सन्तोष श्रेष्ठले प्रत्यक्ष गाएका थिए । प्रत्यक्ष गायनमा बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिएका थिए ।
दियालो साहित्य सरगमको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गरेका थिए ।

ट्यागहरू:
सहित्य literature news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रियासनको ‘कालो मन’
प्रियासनको ‘कालो मन’
खगिन्द्रा खुसी - सोमबार २७ अक्टोबर २०२५
ईरन राईको "चुडेल्नी"कथा सङ्ग्रहको बिमोचन
ईरन राईको "चुडेल्नी"कथा सङ्ग्रहको बिमोचन
खगिन्द्रा खुसी - शनिबार १८ अक्टोबर २०२५