छठ पर्व आज अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण

दिलिप घिमिरे · कार्तिक ११, २०८२ ७:४१ AM
Cover Image for News

कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ।

चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। महाभारतका अनुसार द्रौपदी र पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको पूजा आराधना गरेपछि छठ पर्वको परम्पराको थालनी भएको मानिन्छ। त्यस्तै, सूर्य पुराणका अनुसार ऋषि अत्रिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्,त्यसपछि यो पर्व मनाउने परम्परा सुरु भएको उल्लेख छ।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यको आराधना गरी विधिपूर्वक अर्घ्य दिने परम्परा छ।

व्रत विधि र धार्मिक विश्वास
छठ पर्वमा व्रत बस्दा दु:ख-दरिद्रता नष्ट हुने र परिवारमा समृद्धि आउने विश्वास रहँदै आएको छ। 

फलफूलका झुप्पा अर्पण गर्दा सूर्यदेव प्रसन्न भई व्रतालु र उनका सन्तानलाई कल्याण प्रदान गर्छन् भन्ने जनविश्वास छ। व्रत गर्न नसक्नेले अरू व्रतालु मार्फत् मनोकामना पूरा गराउने चलन पनि प्रचलित छ।
 व्रत कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खानेदेखि सुरु हुन्छ। त्यसको भोलिपल्ट पञ्चमीका दिन “खरना” अर्थात् सखरयुक्त खीर षष्ठी मातालाई अर्पण गरी प्रसादस्वरूप ग्रहण गरिन्छ। षष्ठीका दिन कठोर निराहार व्रत बस्दै साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने मुख्य विधि रहन्छ।
 कन्काई घाट छठ पूजा समितिका अनुसार षष्ठीको रातभर जाग्राम बसेर सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न गरिन्छ। 
 धार्मिक विश्वासअनुसार यस दिन विधिपूर्वक अर्घ्य दिएमा छालासम्बन्धी रोग लाग्दैन भन्ने जनश्रुति छ। 

विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई मधेशभर मात्र नभई काठमाडौं उपत्यकामा समेत धुमधामसहित मनाइन्छ। 

छठ पर्व सूर्य देवताको आराधना हो, जो ऊर्जा, स्वास्थ्य र जीवनका स्रोत मानिन्छन् । अन्य कुनै देवता भन्दा सूर्य प्रत्यक्ष देखिने र वैज्ञानिक हिसाबले पनि जीवनदायी भएकाले यस पर्वको विशेष महत्त्व रहन्छ ।यो पर्व जल नदी, सूर्य, वायु, माटो जस्ता प्राकृतिक तत्त्वहरूको पूजा हो। यसले हामीलाई पर्यावरण संरक्षणप्रति सचेत गराउँछ।
 यसरी सूर्य उपासना, आत्मसंयम र पवित्रताको प्रतीकका रूपमा छठ पर्व आज राष्ट्रिय एकता र सांस्कृतिक समृद्धिको साझा उत्सवका रूपमा मनाइँदै छ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।